बैदेशिक रोजगारीमा ७ महिनामा ६० करोड रुपैयाँ ठगी



काठमाडौं । बैदेशिक रोजगारीमा चालु आर्थिक वर्षको सात महिनामा १२ सय ठगकिा उजुरी परेका छन् ।

वैदेशिक रोजगारीका लागि नेपालबाट ११० मुलुकमा श्रम स्वीकृति लिँदै कामदार विदेसिने गरेका छन् ।

तर, कामदारले नेपालबाट जाने बेलामा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुरूपका सेवा सुविधा पाउन सकेका छैनन् ।

वैदेशिक रोजगारीको क्षेत्र व्यवसायी र मर्यादित बन्न नसक्दा ठगीका उजुरी बढेको हो । चालु आवको साउन देखि माघ महिनासम्म आफु ठगीको भन्दै १२ सय १४ कामदारले उजुरी गरेको विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् ।

अधिकारीका अनुसार सात महिनामा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । माघ मसान्तसम्ममा विभागका ६२८ जनाले आफु ठगीको भन्दै उजुरी दर्ता गराएका छन् ।

व्यक्तिगत ठगीका उजुरी बढेपनि म्यानपावर (संस्थागत) ठगीका उजुरी भने घटेको अधिकारी बताउँछन् । सात महिनाको अवधिमै म्यानपावरले आफुलाई ठगी गरेको भन्दै ५८६ कामदारले उजुरी गरेका छन ।

विभागले व्यक्तिगत ठगी तर्फका १२३ वटा उजुरीका छिनोफानो लगाएको छ भने १४३ वटा उजुरी अदालतमा दायर गरेको अधिकारी बताउँछन् ।

व्यक्तिगत ठगीका उजुरी गर्ने ६२८ कामदारले विभागमा ४२ करोड भन्दा बढीको दाबी पेस गरेका छन् । तर, विभागले भने सात महिनामा व्यक्तिगत ठगी तर्फ परेका उजुरीमा १० करोड रुपैयाँ भरपाइ गराएको छ । यसैगरी अदालतमा दायर भएका व्यक्तिगत ठगी तर्फकै उजुरीमा १८ करोड रुपैयाँ भन्दा बढीको विगो दाबी भएको अधिकारी बताउँछन् ।

यसैगरी म्यानपावरबाट आफु ठगीको भन्दै उजुरी गर्ने कामदार मध्ये एउटा पनि उजुरी अदालतमा पेस गर्ने नपरेको अधिकारी बताउँछन् । व्यक्तिगत ठगीको उजुरीमा अमेरिका, युरोपका देश पठाइदिन्छु भन्दै लार्खौ रुपैयाँ ठगी गरेको केस हुन्छ ।

ठगी गर्ने व्यक्तिको अधिकारी संस्था पनि नहुँदा कारबाही गर्न समस्या परेको अधिकारी बताउँछन् । तर, म्यानपावर तर्फका उजुरीमा भने समस्या समधान गर्न सहज हुने उनको भनाइ छ ।

विभागले संस्थागत ठगी तर्फ म्यानपावर व्यवसायीलाई सात महिनामै २३ लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।


क्लिकमान्डु