‘जहाँ बसेपनि नेपाल र नेपालीको हितलाई ध्यानमा राख्नुस्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने र सरकारको उद्देश्य नै नेपालीको समृद्धि भएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गैरआवासीय नेपाली नागरिकताको विषय नेपालको संविधानले नै संबोधन गरिसकेकोले त्यसको कार्यान्वयन मात्र बांकी रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले नेपाल र नेपालकमा निहित क्षमताको उपयोग गरेर नै देश विकास संभव भएको र जहाँ बसे पनि नेपालीले नेपालको हितलाई ध्यानमा राख्नु पर्ने बताए ।

संघका अध्यक्ष भट्टले प्रधानमन्त्री बनेकोमा ओलीलाई गैरआवासीय नेपालीहरुको तर्फबाट ओलीलाई बधाई दिए । भट्टले ठूलो बहुमतको सरकार बन्नुबाट राजनैतिक अस्थिरताको अन्त्य हुने र मुलुकमा आर्थिक विकासले गति लिने अपेक्षा सबै गैरआवासीय नेपालीहरुले राखेको बताए ।

अध्यक्ष भट्टले देश समुन्नत नभएसम्म व्यक्तिगत अर्थ रहदैन भन्दै मुलुकको समृद्धि गैरआवासीय नेपालीहरुको पनि स्वार्थ भएको बताए । उनले संघको सन्जाल ७८ देशमा फैलिसकेको जानकारी समेत दिए ।

संविधानले नेपालको नागरिकताको निरन्तरतालाई भावनात्मक रुपमा स्वीकार गरेको र एक पटकको नेपाली सधैंको नेपाली भन्ने आफूहरुको भनाइलाई सबैले स्वीकार गर्नसके विदेशीएका नेपालीहरुलाई पनि पुस्तौं पुस्तौंसम्म जोडेर राख्न सकिने भट्टको भनाइ छ । गैरआवासीय नेपालीहरु विस्तारै सक्षम र सकृय हुँदै छन् भन्दै उनले गैरआवासीय नेपालीहरुको संख्या मात्र बढेको नभई गैरआवासीय नेपालीहरुको क्षमतामा पनि विस्तार भएको दाबी गरे ।

पेशा, व्यवसाय, रोजगारी सबै क्षेत्रमा गैरआवासीय नेपालीहरु अघि बढिरहेको र मुलुकले पनि यसको फाईदा लिन सक्ने उनको बिचार छ ।

संघका अध्यक्षले नेपालको विकास एक दुई जनाको प्रयासले संभव छैन भन्दै सबै हात एकै साथ भन्ने नाराका साथ संघको वर्तमान नेतृत्व चयन भएको र त्यसै भावना अनुसार काम गरिरहेको बताए । विगतमा सुरु गरेका परियोजना वा प्रयासलाई निरन्तरता दिएको र केही नयाँ काम पनि आरम्भ गरेको भट्टको भनाइ छ ।

छरिएर रहेको श्रोतलाई एकीकृत गरी एक लगानी योग्य स्तरमा पुर्याउन लगानीका लागि विशेष संयन्त्र स्थापनाका लागि प्रयासरत रहेको भट्टको भनाइ छ । यसका लागि सरकार र प्रधानमन्त्रीबाट सहयोगको अपेक्षा गरिएको पनि भट्टको भनाइ छ ।

संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मुलुकको समृद्धिको लागि काम गर्न प्रधानमन्त्री र सरकारलाई शुभकामना दिनुका साथै मुलुकको समृद्धिमा गरिने काममा साथ दिन संघ सधै तयार रहेको बताए ।

कार्यक्रममा संघका महासचिव डा. बद्री केसी, उपाध्यक्ष सपिला राजभण्डारी, पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र पूर्व पदाधिकारीहरु, सदस्यहरु लगायत ३० जना भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।


क्लिकमान्डु