जंगली हात्तीले गहुँबालीमा नोक्सानी पुर्यायो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ ।
गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको छ ।
तीसवटा परिवारको झण्डै ३१ बिघा खेतमा पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पु¥याएको नगरपालिकाका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
हात्तीको बथानले १५ लाख रुपैयाँभन्दा बढीको गहुँबाली क्षति गरेको उनको भनाइ छ । हात्ती नियन्त्रण गर्नका लागि वडा कार्यालयका तर्फबाट बत्ती जडानको काम शुरु गरिएको उनको भनाइ छ ।
स्थानीय बासिन्दा चुलुवा चौधरीका अनुसार एक साताअघि मात्रै हात्तीको झुण्डले निकुञ्ज क्षेत्रमा शिविर बनाएर बस्दै आएका २१ परिवारको झुपडी भत्काएको थियो । स्थानीय बासिन्दा राति बस्तीमा बस्न छाड्न थालेका छन् ।
शुक्लाफाँटा नगरपालिका–३ को हात्ती प्रभावित क्षेत्रमा प्रदेशसभाका सदस्य लालबहादुर खड्काले आज अनुगमन गरेका छन् ।