आहा ! बागमती, बैज्ञानिक तथ्यसहित स्वरुप परिर्वतन गर्दै



काठमाडौं । बागमती नदीलाई स्वच्छ बनाउँदै उपत्यकाको सभ्यता र धार्मिक महत्वलाई जीवन्त राख्ने गुरु योजना अर्न्तगत निर्माण सुरु भएको आयोजनाको काम द्रुतगतिमा अगाडि बढेको छ ।

गोर्कणदेखि सिनामङ्गल सम्मको ७ किलोमिटर दुरीको बागमती खोला किनारमा पानी जम्मा गर्ने वायर निर्माणको कामले गति लिएको छ ।

निर्माण सम्पन्नपछि यस्तो बन्ने छ ।

सो ७ किलोमिटर दुरीमा ११ वटा वायर निर्माण गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

‘यो वायर (पानी जमाउने घाट) निर्माण गर्नुको मुख्य उद्देश्य हिउँदमा पानी नभएको समयमा समेत उपत्यकावासीले जन्मदेखि मृत्युसम्म गर्ने संकार बागमतीमा गर्न पाउन भन्ने हो’, उनले क्लिकमाण्डुसँग भने ।

वायर निर्माण गर्नु पछाडि बैज्ञानिक कारण रहेको त्रिचकार बताउँछन् ।

‘बाग्मतीको पानी एकदमै दुषित छ, त्यसैले पानीमा अक्सीजनको मात्र बढाउन पानीलाई माथिबाट खसाल्नु पर्ने हुन्छ,’ उनले भने ।

यसरी घाट निर्माण गर्दा सुख्खा मौसममा पानी जम्मा भएर खस्छ । यसरी घाटबाट तल खस्दा पानीमा अक्सीजनको मात्रा बढ्छ ।

बाग्मती नदीको कुल क्षेत्रको २२ किलोमिटर नदी नियन्त्रणको काम सकिएको छ । अहिले दुबै तर्फ आर्कषक बाटो निर्माण गर्ने, बिरुवा रोप्ने र ढुङ्गा बिछ्याउने काम भइरहेको छ ।

सहरबाट निस्कने ढल प्रतिसेकेन्ड ४०० लिटरको दरले निस्कीरहेको छ भने, गुहेश्वरी रहेको प्रशोधनकेन्द्र १ सय ९० लिटर प्रति सेकेण्डमात्रै ढल प्रशोधन गरिरहेको छ । त्यसैले आयोजनाले अर्को प्रशोधनकेन्द्र निर्माण गरिरहेको छ । मेलम्चीको पाईप बिछ्याउने कम्पनी पिडिआईले यसको काम गरिरहेको चित्रकारले जानकारी दिए ।


क्लिकमान्डु