युवा संघ र वाईसिएलले पञ्चकन्या स्टिल उद्योगमा ताला लगायो



काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका स्टिल उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् ।

पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्टले पञ्चकन्या स्टिलमा ताला लगाइएको जानकारी दिए ।

‘युवाहरुको समूहले हाम्रो क्षेत्रका सम्पूर्ण उद्योगमा ताला लगाएका छन्, त्यसमा हाम्रो उद्योग पनि परेको छ,’ श्रेष्टले क्लिकमाण्डूसँग भने ।

मंगलबार दिउँसो सोहि समूहले भैरहवामा संचालन भएका सिमेन्ट उद्योगमा पनि ताला लगाइएको थियो । साँझमा उनीहरुले पञ्चकन्या स्टिल उद्योगमा पनि ताला लगाएका छन् ।

पछिल्ला दिनमा सिमेन्ट र छडमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै उद्योगमा तालाबन्दी गरिएको दुई संगठनले जनाएका छन् ।


क्लिकमान्डु