एमालेका सांसद महेश बस्नेतका बुवाले सत्तरी वर्षमा ड्रार्इभिङ लाइसेन्स लिए



भक्तपुर । यहाँका एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।

सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थाल्नुभएका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताए ।

‘धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ,’ उनले भने ।

कुनै घटना भइहाले पूर्वमन्त्री, सांसदका बाबुले लाइसेन्सविना स्कुटी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो ।

बस्नेतले राधेराधेस्थित इजीवे ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको सञ्चालक निर्भयबाबु प्रसार्इंले जानकारी दिए ।


क्लिकमान्डु