ट्रम्प प्रशासनलाई अल्पकालिन राहत, साढे २ हप्तासम्म खर्च गर्ने बाटो खुल्यो




काठमाडौं । राजनीति सरल रेखामा अगाडि बढ्दैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक राम्ररी नै बुझेको हुनुपर्छ ।

अमेरिकी संसदमा दुई तिहाई आसपासमा आफ्ना सदस्य भएपनि राज्य सञ्चालनमा सहज भएको छैन । त्यसको पछाडि ट्रम्पको नीति नै मुख्य कारण बनिरहेको छ ।

लामो रस्साकस्सीपछि अमेरिकाका दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गरेको बीबीसीले जनाएको छ ।

बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउन सक्नेछ । त्यसपछि विधेयक पारि नभए पुनः समस्या आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सरकारी खर्चबारे सिनेटमा भएको यो अस्थायी विधेयकको पक्षमा ८१ मत र विपक्षमा १८ मत खसेको थियो ।

रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुन खुल्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

संघीय कार्यालयहरूमा कार्यरत ५ लाख बढी कर्मचारी बेतलबी बिदा बसेका थिए । अस्थायी रुपमा उक्त विधेयक पारित भएसँगै उनीहरुले राहतको सास फेरेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले संसद्बाट पारित भएको उक्त विधेयकमा हस्ताक्षर गरेपछि ८ फेब्रुअरीसम्म संघीय सरकारले आर्थिक अभावविना नै कामकाज चलाउन सक्ने भएको छ । तर त्यसपछि के हुन्छ त्यो भने अहिले स्पष्ट पारिएको छैन ।

उक्त विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले ‘डेमोक्रयाटहरू अन्ततः होसमा आएको’ उत्तेजक प्रतिक्रिया दिएका छन् ।

डेमोक्रयाटले भने संघीय निकायलाई बजेट उपलब्ध गराउने विधेयकमा शर्तसहित सहमति जनाएको बताएका छन् । उनीहरूले आप्रवासनसम्बन्धी समस्यालाई रिपब्लिकनहरूले सम्बोधन गर्ने शर्तमा यो विधेयकमा सहमति जनाएको टिप्प्णी गर्दै आएका छन् ।


क्लिकमान्डु