ट्वीट गर्दै नवराज सिलवाले भने-सरकारले प्रतिशोध साध्यो



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्व डिआइजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको बताएका छन् ।

उनले आज एक ट्वीट मार्फत उक्त कुरा बताएका हुन् ।

उनले आफूविरुद्ध लगाएको आरोपको डटेर सामना गर्ने घोषणा गरेका छन् । किर्ते अभियोगमा पक्राउ गर्न उनलाई नेपाल प्रहरीले सातवटै प्रदेशमा सर्कुलर पठाएपछि सिलवालको उक्त धारणा सार्वजनिक भएको हो ।

शक्तिको दुरुपयोग गर्दै सरकारले आफू विरुद्ध प्रतिशोध साँधेको उनको आरोप छ ।

सर्वोच्च अदालतले आईजी नियुक्ति प्रक्रियामा सिलवालले कीर्ते कागजात प्रस्तुत गरेको ठहर गरेलगत्तै प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले सिलवालको खोजी गरिरहेको बताए पनि उनी कहाँ छन् त्यसबारे धेरैलाई जानकारी छैन ।

आज विहान उनले ट्वीटमा लेखेका छन ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’


क्लिकमान्डु