बिजुली चोरीमा संलग्न हजार बढी कारवाहीमा , ८० लाख उठ्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले चोरी नियन्त्रण अभियान अगाडि बढाउँदा मात्रै ८० लाख ९० हजार ९८० रुपैयाँ असुली गरेको छ ।

पछिल्लो ६ महिनामा प्राधिकरणले सुरु गरेको आक्रामक कारवाहीमा उक्त सफलता हासिल भएको हो ।

विजुली हुकिङ गर्ने र मिटर बिगारेर विद्युत् चोरी गर्ने विरुद्ध आक्रामक कारवाही थालेपछि उक्त सफलता हासिल भएको बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीले बताए ।

उक्त क्षेत्रीय कार्यालयले एक वर्षको अवधिमा १ हजार २३१ जनालाई कारवाही गरेको छ ।

कार्यालयकाअनुसार हुकिङबाट विद्युत् चोरी गर्ने १७४ जनालाई पक्राउ गरी थुनामा राखिएको छ । चोरीमा संलग्न ८१९ जनाको उपकरण जफथ गरिएको छ ।

मिटर बिगारेर विद्युत् चोरी गर्ने २३८ जना पनि कारबाहीमा परेका छन् । हुकिङ गरी विद्युत् चोरी गर्नेबाट २१ लाख ८२ हजार ९७ रुपैयाँ उठाइएको छ । यस्तै मिटर बिगारेर चोरी गर्नेबाट ५९ लाख ८ हजार ८८३ रुपैयाँ असुल गरिएकोे छ ।

हुकिङ गर्दा ३ लाख ८५ हजार ७८५ युनिट विद्युत् चुहावट भएको थियो । यस्तै मिटर बिगारेर १ लाख २० हजार ७७४ युनिट विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयले जनाएको छ ।


क्लिकमान्डु