सपथ नखाँदै मनाङेको सांसद पद गुम्यो !



काठमाडौं । सपथ नखाँदै मनाङ जिल्लाबाट प्रदेश सांसदमा निवार्चित भएका दिपक मनाङेको सासंद पद गुमेको छ । सर्वोच्च अदालतले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजायसँगै सांसद पद गुमेको हो ।

उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

पुनरावदेनले पाँच वर्षअघि गरेको जेल सजायको फैसलाविरुद्ध मनाङे सर्वोच्चमा गएका थिएनन् । तर, सर्वोच्चको आजको फैसलासँगै उनलाई पक्रन बाटो खुलेको छ ।

दीपक मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा सर्वोच्चले यस्तो फैसला गरेको हो । चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो ।

चक्रे मिलनलाई आक्रमण गरेको घटनामा दीपक मनाङे, रमेश सुनुवार, रेवत कार्की, उमेश लामा र काभ्रेली गुण्डा नाइके गणेश लामासहितविरुद्ध जिल्ला अदालत काठमाडौँमा कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु