माघे संक्रान्तीको दिन नुवाकोटमा २८ हल गोरु जुधाइँदै



नुवाकोट । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

तारकेश्वर गाउँपालिका-२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।

तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताए । उनका अनुसार मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेका लागि साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ ।

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जान सहज बनाउन गल्छी-देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक योजनाले सहमति दिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिनुभयो । मेलामा विजेता गोरु धनीलाई ५ हजार र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष गोरु जुधाउनका लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । रासस


क्लिकमान्डु