राष्ट्र बैंकले बन्द गर्यो नयाँ कम्पनीलाई हायरपर्चेजको सुविधा



काठमाडौं । गाडी बिक्रेता कम्पनीहरुले अब नेपाल राष्ट्र बैंकबाट हायरपर्चेजको नयाँ लाईसेन्स नपाउने भएका छन् ।

नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा दिन नेपाल राष्ट्र बैंकले बन्द गरेको हो । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा दिन बन्द गरेको हो ।

निर्देशनमा कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन लिने कार्य स्थगन गरेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले २०७० सालमा सवारी साधनमा दिइने कर्जालाई सरलीकृत गर्न सवारी साधन बिक्री गर्ने कम्पनीहरुले सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो ।

केन्द्रिय बैंकले हायर पर्चेजमा थप कडाई र व्यवस्थित बनाउन तत्काल नयाँ आवेदन बन्द गरिएको जनाएको छ । यसअघि राष्ट्र बैंकले आधा दर्जन बढी कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो ।

अघिल्लो बर्ष फागुनमा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाब भएपछि राष्ट्र बैंकले अटो लोनको सिमा घटाएर ५० प्रतिशतमा झारेको थियो । व्यवसायी र बैंकरकै आग्रहमा तरलता केहि सहज भएपछि यस बर्षको मौद्रिक नीतिमार्फत त्यस्तो सिमा बढाएर ६५ प्रतिशत बनाइएको थियो ।

अहिलेको सकुर्लर बैंकले कर्जा दिदैनन् भन्ने होइन, हायरपर्चेज कर्जा दिने कम्पनी खोल्न नदिने भनेको हो । तर, यसरी हरेक समय अटो क्षेत्रको लोनमा कडाई गर्दै जाँदा व्यवसायीहरु समस्यामा परेको एक अटो बिक्रेताले क्लिकमाण्डुलाई बताए ।


क्लिकमान्डु