होटलको क्षमता विस्तारमा करोडौं लगानी गर्दै घोडेपानीका व्यवसायी



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् ।

व्यवसायीले काठ, ढुंगा र माटोले बनेका घर विस्थापित गरी करोडौं लगानीमा पक्की भवन निर्माण गरेका छन् ।

पाँच वर्षयता दुईवटा नयाँ होटल थपिएका छन् भने चारवटाले क्षमता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले जानकारी दिए।

दुईवटा होटल क्षमता विस्तारका क्रममा छन् । हाल घोडेपानीमा रहेका २३ वटा होटलमा दैनिक ८०० देखि ९०० जनासम्म बास बस्न मिल्ने रहेका छन् ।

‘होटलको सङ्ख्या पुरानै हो, क्षमता बढाइएको हो,’ पुनले भने । पहिले यहाँका होटलको क्षमता दैनिक ६०० जना बस्न मिल्ने थियो ।

अहिले पर्यटकले कोठा नपाउने समस्या हटेको छ । केही वर्ष पहिलेसम्म घोडेपानीका होटल भरिभराउ हुँदा नजिकैका ठाउँमा पुग्नुपर्ने समस्या थियो । पुराना ‘सुपर भ्यू’, ‘धौलागिरि’, ‘फिस्टेल’ र ‘स्नो भ्यू’ होटलका सञ्चालकले पक्की भवन बनाएका छन् । पुनहिल गेस्ट हाउसको क्षमता विस्तारको काम भइरहेको छ भने स्नो ल्याड होटलको पुरानो भवन भत्काएर नयाँ बनाउने तयारी भइरहेको छ ।

एउटा होटलमा दैनिक ५० जनाभन्दा बढी बास बस्न मिल्छ ।

होटल स्नो भ्यूका सञ्चालक टेकसर बुद्धुजा पुनले पर्यटकको माग र आवश्यकताअनुसार नयाँ संरचना निर्माण गरेको बताए । आन्तरिक तथा बाह्य पर्यटकको चाप र उनीहरुको चाहनाअनुसार क्षमता र सुविधा बढाएको उनको भनाइ छ ।

भौगोलिक रुपमा विकट घोडेपानीका होटलमा शहरी क्षेत्र सरहको सुविधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तीव्र गतिँको इन्टरनेट समेत उपलब्ध छ । एउटा होटल निर्माण गर्न दुई करोड रुपैयाँदेखि तीन करोड रुपैयाँसम्म लगानी भएको व्यवयासीहरु बताउँछन् ।

कच्ची सडक, खच्चर र भरियामार्फत निर्माण सामग्री ढुवानी गर्नुपर्दा भवन निर्माणको लागत बढेको पिस एक्सिलेन्ट होटलका सञ्चालक चन्द्रबहादुर बुद्धुजाले बताए ।

घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल र गुराँसे जंगलको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीमा हिमशृङ्खला, सूर्योदय, गुराँसे जंगल, मगर संस्कृति, पहाडी सौन्दर्यता र पदयात्रामा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।


क्लिकमान्डु