नेपालमा एकै दिन ७० हजार पर्यटकले सेवा पाउने, कुन जिल्लामा कति पर्यटक होटल ? सूचिसहित



काठमाडौं । नेपाल राष्ट्रबैंकको सर्वेक्षणका अनुसार गत वर्ष मात्र देशभरका पर्यटक स्तरका होटलहरुमा ६ हजार १ सय ८८ वटा रुम थपिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण अनुसार हाल पर्यटक स्तरका होटल सहित, तारे होटलहरुमा दैनिक ६९ हजार ३ सय ३५ रुमहरु उपलव्ध रहेको समेत सार्वजनिक गरेको छ । सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्न सक्ने क्षमता पर्यटक स्तरका होटलहरुमा रहेको पाइएको छ ।

नेपालमा पर्यटक स्तारका होटलहरुको संख्या २ हजार ५ सय १ रहको समेत पाइएको छ । विगतमा १५ देखि १७ लाख पर्यटक मात्रै धान्न सक्ने अवस्थामा होटलहरु रहेको बताउँदै आउने गरेको भएता पनि पछिल्लो समय देशभरका ५७ जिल्लामा गरिएको सर्वेमा यस्तो पाइएको हो ।

नेपाल पर्यटन बोर्ड तथा पर्यटक विभाग सहित नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा नेपालमा होटलहरु संख्याले तत्काल २५ लाख भन्दा बढी पर्यटक धान्न सक्ने क्षमता रहेको पाईएको छ । सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा मात्रै ६ हजार १ सय ८८ वटा रुम थपिएको छ ।

काठमाडौं बाहिरका अधिकांस होटल तथा लजहरु आन्तकि पर्यटकले धानिदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणका अनुसार पछिल्लो वर्षमात्रै होटलमा लगानी ९.९७ प्रतिशतले बढेको छ ।

राष्ट्रबैंले मुख्य गरी काठमाडौं, विराटनगर, नेपालगन्ज, जनकपुर, विरगन्ज, भैहरवा, पोखरा, धनगढी सहित ५७ जिल्लामा सर्वेक्षण गरेको थियो । नेपालमा सन् २०२० सम्ममा थप ४ हजार कोठहरु पनि थपिदै छन् । हालसम्म नेपालका होटलहरुमा २ खर्ब ३० अर्व रुपैयाँ लगानी भएको र सन् अहिले थप ३० अर्व रुपैयाँ लगानी भइरहेको अनुमान छ ।

सन् २०१७ को १० महिनामा ७ लाख ५० हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त संख्या २०१७ मा १० लाख पुग्ने र हालसम्मकै सवैभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । पर्यटक आगमनदर बढेपनि एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भने समस्या आउने देखिन्छ ।

राष्ट्रबैंकको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ७ सय ५० होटलका २७ हजार ३ सय ७१ रुम संख्या उपलव्ध रहेको जनाएको छ । उक्त सर्वेमा ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धुलिखेल लगायत यस क्षेत्र समेटिएको छ । त्यस्तै पोखरामा ८ सय १ होटलका १७ हजार २९ वटा रुम रहेको छ । काकी सहित, तनहु, लम्जुङ, गोरखा, स्याङजा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ क्षेत्र समेटिएको छ ।

विरगन्जमा पनि ४ सय ९४ पर्यटक स्तरका होटलमा १३ हजार ४ सय ९६ रुमहरु रहेका छन् । त्यस्तैगरी नेपालगन्जमा १ सय ६९ होटलमा ४ हजार २ सय ७४ रुमहरु रहेका छन् । विराटनगरमा १ सय ५१ होटलमा २ हजार ७ सय ५९ रुमहरु रहेका छन् ।

त्यस्तैगरी जनकपुरमा ४६ होटलमा १ हजार ३ सय ८० रुमहरु रहेका छन् । भने धनगढीमा ३८ होटलमा १ हजार १ सय १६ रुमहरु रहेका छन् । त्यस्तैगरी भैरहवामा ५२ होटलमा १ हजार ९ सय ३० वटा रुमहरु रहेका छन् ।

नेपालमा उपलव्ध पर्यटक स्तरका होटलको संख्या

क्षेत्र होटल संख्या रुम संख्या
काठमाडौं ७५० २७,३३१
पोखरा ८०१ १७,०२९
विरगन्ज ४९४ १३,४९६
नेपालगन्ज १६९ ४,२७४
विराटनगर १५१ २,७५९
सिद्धार्थनगर ५२ १,९३०
जनकपुर, ४६ १,३८०
धनगढी ३८ १,११६
जम्मा २,५०१ ६९,३५५

स्रोतः नेपाल राष्ट्र बैंक


क्लिकमान्डु