ट्याक्सीमा सुजुकी अल्टोकै दबदबा, बजारमा कुन कम्पनीको कति ट्याक्सी ?



काठमाडौं । भूकम्प प्रभावितलाई दिइएको ट्याक्सीमा सबैभन्दा धेरै मारुती सुजुकीको अल्टो दर्ता भएको छ । १ हजार ४ सय ६८ वटा ट्याक्सी दर्ता भएकोमा मारुती सुजुकीको मात्र १ हजार १ सय ४४ वटा छ ।

त्यस्तै हुन्डाईका ३ सय २३ वटा ट्याक्सी दर्ता हुँदा टाटाको एउटामात्र दर्ता भएको यातायात व्यवस्था कार्यालय बागमती साना–ठूला सवारीले जनाएको छ ।

सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितका लागि स्वरोजगार बनाउने उद्देश्यले दिएको १५ सय नयाँ ट्याक्सीमध्ये १ हजार ४ सय ६८ वटा दर्ता भएका छन् । मंसिर मसान्तसम्मको समय सीमा दिइएकोमा उक्त मितिसम्म १ हजार ४ सय ६८ वटा ट्याक्सी दर्ता भएको हो ।

दर्ता भएका नयाँ ट्याक्सीमध्ये सबैभन्दा धेरै मारुती सुजुकीको दर्ता भएको यातायात व्यवस्था कार्यालय बागमतीले जनाएको छ ।

सरकारले भूकम्पबाट अति प्रभावितलाई स्वरोजगार बनाउने उद्देश्यले २ वर्ष अघि भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्प पीडित कार्ड हुनेहरुबाट छनोट गरि १ हजार ५ सयजनालाई ट्याक्सी दर्ता गर्न दिने निर्णय भएको थियो ।

१ हजार ५ सय ट्याक्सी दर्ताका लागि १ लाख ४९ हजार आवेदन दिएका थिए । त्यस अघि सरकारले बागमती अञ्चलमा दर्ता भएका ट्याक्सी पुराना भएको र ट्याक्सीको संख्यासमेत कम भएको भन्दै १ हजार ८ सय ५० नयाँ ट्याक्सी दर्ताको अनुमति दिएको थियो ।

१ हजार ५ सय भूकम्प प्रभावितले नयाँ ट्याक्सी दर्ता गर्ने अनुमति पाएको भए पनि १ हजार ४ सय ६८ जनाले मात्र दर्ता गरेको छन् । अब बाँकी ३२ ले दर्ता गर्न नपाउन भएका छन् ।

नेपाली ट्याक्सी बजारमा मारुती सुजुकीको एकत्व अहिले पनि कामय नै देखिएको छ । ०५७ मा ट्याक्सी दर्ता खुलेपछि विभिन्न कम्पनीका ट्याक्सी स्वतहः विस्थापित भएका थिए । त्यसपछि सरकारले ८ सय सीसी इन्जिन क्षमतका गाडीलाई ट्याक्सी बनाउन पाउने निर्णय गरेपछि मारुती ८ सय ट्याक्सीका रुपमा प्रवेश गरेको थियो ।

२०७१ मा दर्ता भएका १ हजार ८ सय ५० नयाँ ट्याक्सीमा पनि मारुती सुजुकीको अल्टो नै सबैभन्दा धेरै दर्ता भएको थियो ।


क्लिकमान्डु