चार महिनामा नेपालको ब्यापारः ३ खर्ब ३६ अर्बको आयात, २६ अर्बको निर्यात




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा ११.२३ प्रतिशतको वृद्धि भएको छ । नेपालले विभिन्न मुलुकहरुसँग पहिलो चार महिनामा ३ अर्ब ६२ अर्ब ९३ करोड ८० लाख ६६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यो व्यापार मूल्य अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.२३ प्रतिशतले बढि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

विभागकाअनुसार चालु आवको पहिलो चार महिनामा आयात निर्यातको रेसियो निकै फरक रहेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदै आयात निर्यातको रेसियो १२ः८ रहेको छ ।

नेपालले विभिन्न वस्तु तथा सेवाहरु चालु आवको पहिलो चार महिनामा ३ खर्ब ३६ अर्ब ५६ करोड ४ लाख ४७ हजार रुपैयाँ बराबरको आयात गरेको छ भने सोही अवधिमा निर्यातको रकम २६ अर्ब ३७ करोड ७६ लाख १९ हजार रुपैयाँ मात्र रहेको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधिको तुलनामा आयातमा ११.५२ प्रतिशतको वृद्धि भएको छ भने निर्यातमा ७.७ प्रतिशतको वृद्धि देखिएको छ ।

नेपालको वैदेशिक व्यापार घाटामा पनि वृद्धि हुँदै गएको छ । गत आवको तुलनामा नेपालको व्यापार घाटा चालु आवको पहिलो चार महिनामा ११.८६ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब १० अर्ब १८ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।

आयातको तुलनामा हेर्दा आयात ९२.७ प्रतिशत रहेको छ भने निर्यात केबल ७.३ प्रतिशत मात्र रहेको देखिन्छ । जबकि अघिल्लो आवको सोहि अवधिमा यस्तो आयात ९२.५ प्रतिशत रहेको थियो भने निर्यात ७.५ प्रतिशत रहेको थियो ।

पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालले सबैभन्दा धेरै वस्तु तथा सेवाहरुको आयात छिमेकी मुलुक भारतबाट गरेको देखिन्छ । आयात व्यापारमा भारतको मात्रै एकल हिस्सा ६५.६ प्रतिशत रहेको छ भने अन्य मुलुकहरुको हिस्सा १८.८ प्रतिशत रहेको छ । त्यसैगरि अर्को छिमेकी मुलुक चीनबाट हुने आयात १२.९ प्रतिशत रहेको छ । नेपालको आयात व्यापारमा अर्जेन्टिनाको हिस्सा १.४ प्रतिशत र भियतनामको हिस्सा १.३ प्रतिशत रहेको तथ्यांकमा देखिन्छ ।

त्यसैगरि निर्यात व्यापारमा पनि छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा धेरै अर्थात ५३.४ प्रतिशत रहेको छ । निर्यातमा अन्य मुलुकहरुको हिस्सा २५ प्रतिशत रहेको छ भने अमेरिकाले ११.४ प्रतिशतको हिस्सा ओगटेको देखिन्छ । नेपालको निर्यात व्यापारमा टर्कीको हिस्सा ६ प्रतिशत रहेको छ भने जर्मनीसँग २ प्रतिशत निर्यात व्यापार हुने गरेको देखिन्छ । नेपालको अर्को छिमेकी मुलुक चीनको नेपालको निर्यात व्यापारमा हिस्सा अत्यन्त्य न्यून रहेको भन्सार विभागको भनाई छ ।

चालु आवको पहिलो चार महिनामा सबैभन्दा धेरै आयात हुने वस्तु तथा सेवाहरुको सूचीमा ईन्धन पहिलो स्थानमा छ भने दोस्रो स्थानमा आईरन तथा स्टील रहेको छ । आयातको तेस्रो सूचीमा उत्पादनमुलक अप्लाएन्सहरु रहेका छन् भने चौथो धेरै आयात हुने वस्तुमा सवारीसाधन रहेको छ । पाँचौ प्रमुख आयातित वस्तु तथा सेवाको सूचीमा विद्युतीय उपकरणहरु रहेका विभागको तथ्यांकमा छ ।

निर्यात तर्फ हेर्दा नेपालबाट सबैभन्दा धेरै निर्यात कफी तथा चियाको रहेको देखिन्छ । दोस्रो स्थानमा हातले बुनेका फाईबरको निर्यात रहेको छ भने तेस्रो स्थान कार्पेटले ओगटेको छ । चौथो स्थानमा एप्रिक्लोथ रहेको छ भने पाँचौ स्थानमा तरकारीजन्य वस्तुहरु रहेका भन्सार विभागले जनाएको छ ।


क्लिकमान्डु