मोरङका सहायक सिडियोलाई इन्ट्याग्रीटी आइडलको उपाधि



काठमाडौं । यो वर्षको इन्ट्याग्रीटी आइडलको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले पाएका छन् ।

सोमबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा पौडेललाई ‘इन्ट्याग्रीटी आइडल २०१७’ अवार्ड प्रदान गरिएको हो । सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीको सम्मानमा एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले उदाहरणीय र प्रशंसनीय काम गरेको भन्दै पौडेललाई अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ठ पाँचको मनोनयनमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाण्डौमा सहायक वन अधिकृतको रुपमा कार्यरत सवनम पाठक, पंचदेव मावि मान्म कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह सदस्य रहेको निणर्यक मण्डलले उत्कृष्ट छनोट गरेको हो ।

अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो । यसबर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो । सो मध्ये विजयी शेष नारायण पौडेलले सवैभन्दा बढि अर्थात् ९ हजार ९ सय ३० मत पाएका थिए ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्ट्यागि्रटी आइडलको सुरु गरेको हो । इन्ट्यागि्रटी आइडल २०१७ मा यस वर्ष १५ जनवरी २०१७ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट १०२० वटा मनोनयन प्राप्त भएको थियो ।

नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफि्रका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको छ र सन् २०१८ मा श्रीलंकामा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको छ । जनताका लागि राम्रो काम गर्ने कर्मचारी अझै पनि जनता माझ लुकेको र भ्रष्टहरु खुले आम समाजमा हिंडिरहेको अवस्थामा कर्तव्यनिष्ठ इमान्दार कर्मचारीलाई जनताका माझ चिनाउनका लागि इन्ट्याग्रीटी आइडल कार्यक्रमको सुरुवात गरिएको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताए ।


क्लिकमान्डु