४० प्रतिशत चिनियाँ पर्यटकको पहिलो रोजाईमा किन पर्छ जापान ?



काठमाडौं । २० र ४० को उमेरका चिनियाँ पर्यटकका लागि जापान विश्वकै उत्कृष्ट गन्तव्य भएको एक सर्वेक्षणले देखाएको छ । जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसनले गरेको पछिल्लो सर्भेले त्यस्तो देखाएको हो ।

सर्भे सुरु गरिएको वर्ष २०१३ देखि पहिलो पटक चिनियाँ पर्यटकका लागि जापान उत्कृष्ट गन्तव्य भएको हो । यो सर्भे बेइजिङ, सांघाई र गुवानझोउ लगायतका चीनका ६ सहरमा बस्ने १ हजार २ सय २४ मध्यम र उच्च आम्दानी भएका मानिस माझ गरिएको थियो ।

सर्भेमा समावेश भएका ९ मध्ये जापान पहिलो स्थानमा परेको हो । सर्भेमा सहभागी ४०.२ प्रतिशतले जापानलाई आफ्नो पर्यटकीय गन्तव्यका रुपमा छनोट गरेका थिए ।

दोस्रो स्थानमा अमेरिका परेको छ । ३९.९ प्रतिशत सहभागीले अमेरिकालाई छनोट गरेका छन् । तेस्रो स्थानमा ३७.४ प्रतिशतसहित इटाली परेको छ । अमेरिका र इटाली दुवैको स्थान अघिल्लो सर्भेको तुलनामा तल झरेको छ ।

जापान आउने चिनियाँ पर्यटकमध्ये ६० प्रतिशतले मनोरन्जनात्मक पार्कको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । यो सपिङ र डाइनिङका लागि जापान भ्रमण गर्नेको संख्याभन्दा उच्च हो । चेरी ब्लुसम हेर्न चाहनेको संख्या ४२.३ प्रतिशत छ । चिनियाँहरु अनुभव आधारित उपभोगमा बढी इच्छुक भएको सर्भेले सुझाएको छ ।

‘जापान र चीनको सम्बन्धमा लगातार सुधार आएसँगै जापानमा विदेशी पर्यटकले गर्ने उपभोगमा पनि लगातार वृद्धि भएको छ,’ जेट्राका अधिकारीले बताए ।

जापान भ्रमण गर्ने इच्छा व्यक्त गर्ने सहभागीमध्ये ६१.१ प्रतिशतले चीनमा बस्दै आएका आफ्ना नातेदार र साथीले जापान भ्रमणका बारेमा जानकारी पाउने गरेको बताएका छन् । ८.२ प्रतिशतले मात्रै इन्टरनेटबाट सूचना प्राप्त गर्ने गरेको बताएका छन् । धेरै सहभागीले जापानी जनता भद्र भएको र राम्रो सेवाको प्रस्ताव गर्ने गरेको बताएका छन् ।

सबै सहभागीको ६७.७ प्रतिशतले आफूहरुले सीमापार ई–कमर्सको प्रयोग गरे जापानबाट सामान किन्ने गरेको बताए । उनीहरुमध्ये धेरैजसोले आफ्नो विगतको जापान भ्रमणको क्रममा मन परेकाले आफूहरूले जापानी सामान किन्ने गरेको बताएका छन् । जापानमा बढ्दो संख्याको पर्यटकका कारण विदेशमा जापानी सामानको अनलाइन खरिद गर्ने गरेको जेट्रोका अधिकारीले बताएका छन् ।


क्लिकमान्डु