पुरा होला सन् २०३० भित्र ५० लाख पर्यटकको लक्ष्य ?



काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको छ । पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजीक्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो ।

पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिकासमेत खेल्ने जनाएको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहस्राब्दी विकास लक्ष्यअनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो । साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए ।

‘निजीक्षेत्रले मात्र काम गरेर हुँदैन । त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्र्यउने पूर्वाधार निर्माणमा जोड दिएको छ,’ उनले भने । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलको काम चाँडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्ष्य गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । ‘पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटकीय सम्भावना बोकेका नयाँ गन्तव्यको खोजी गरी व्यापक प्रवद्र्धनमा साझेदारीका साथ अघि बढाएमा आफूहरुका योजनाले सार्थका पाउने बनाए ।

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको बताए । ‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । हामीले पनि त्यही लक्ष्यलाई भिजन बनाएका छौं,’ उनले भने । अब सरकारसँग मिलेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।

पाटाको नेर्तृत्वमा साक्य
पाटाको ४१ औँ साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सीईओ जोशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पदेन सदस्य छन् भने अन्य सात जना निजीक्षेत्रबाट सदस्य चयन भएका छन् ।

साधारणसभाले हिमालयन ट्राभल मार्ट तथा इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स -२०१८ नेपालमा आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारणसभाले पाटा नेपालको पोखरा च्याप्टर स्थापना गर्ने समेत निर्णय गरेको छ ।
यसैबीच पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना पर्यटन व्यवसायीलाई पदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यलाई सम्मान गरेको छ । पाटा नेपाल च्याप्टरले यो वर्षबाट ‘बेस्ट स्टुुडेन्ट्स च्याप्टर अवार्ड’ नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजमका स्टुडेन्ट्स च्याप्टरलाई प्रदान गरेको छ ।


क्लिकमान्डु