भक्तजन र पर्यटक भित्र्याउन पूर्वाधारमा डेढ करोड लगानी



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् ।

पर्यटकीय र धार्मिक हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको खोप्रा र खयरको विकासका लागि स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । उनीहरुले पाउद्वार गाउँदेखि खोप्रा लेकहुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल र सामुदायिक होटल निर्माण गरेका छन् ।

खयर तालको अवलोकन र खयर बारहीको पूजापाठका लागि जाने पर्यटक तथा भक्तजनको सुविधाको लागि थानको पुनःनिर्माणसहित व्यवस्थित पदमार्ग र विश्रामस्थललगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताए।

खयरबाराही अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । जनैपूर्णिमाको अवसरमा सो स्थानमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

चन्दा संकलन र श्रमदानबाटै खोप्रादेखि खयरबाराही थानसम्म पदमार्ग, चौतारीलगायत पूर्वाधार निर्माण गरिएको छ । खयर क्षेत्रमा पूर्वाधार निर्माणको लागि अभियान थालिएको ६ वर्षमा एक करोड १५ लाख रुपैयाँभन्दा बढीको पूर्वाधार निर्माण गरिएको अभियन्ता पुनले बताए ।

खयरबाराही थानको पुनःनिर्माणमा ३५ लाख रुपैयाँ लगानी भएको छ । यस क्षेत्रको दर्शन तथा भम्रणमा जाने भक्तजन र पर्यटकलाई लक्षित गरी खोप्रामा दुईवटा र खयर खोलामा चारवटा बास बस्ने ठाउँ तथा खोप्रा र खयरखोलामा एक/एकवटा भान्सा घर निर्माण गर्न २५ लाख रुपैयाँ लगानी भएको छ ।

खयरबाराही जाने बाटोमा पर्ने खोप्रा लेक हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकीय गन्तव्य बनेको छ ।

समुद्री सतहदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको खोप्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।


क्लिकमान्डु