म्याग्दीको ‘बेलढुंगा’ पर्यटकका लागि आकर्षक गन्तव्यस्थल



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ ।

समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो ।

जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश भूभागका साथै बाग्लुङ, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले बताए ।

‘म्याग्दीको प्रसिद्ध धार्मिकस्थल स्वर्गाआश्रमबाट करिब ४५ मिनेटको दूरीमा छ, यहाँ रहेको विशाल चट्टानबाट विभिन्न हिमशृंखला, भौगोलिक विविधता, चार जिल्लाका दर्जनौँ ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ,’ उनले भने ।

भकिम्लीको मुसुङ, डोले, भुकभुके गाउँबाट करिब डेढघण्टाको दूरीमा रहेको बेलढुंगामा पुग्नु अगाडि धार्मिकस्थल स्वर्गाआश्रम, तपस्यास्थल, प्राचीनकालीन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलसमेत देखिने गरेको छ । पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घनाबस्तीलाई थिचोल्दै पहाडको शीरमा रहेको विशाल चट्टानमा बसेर दृष्य अवलोकन गर्न पाउनु यहाँको प्रमुख आर्कषण रहेको जिसीको भनाइ रहेको छ ।

बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरिलगायत दर्जन हिमशंखला, लालीगुराँसको घना जंगल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्य देखिन्छ । जंगलको बीचमा रहेको अग्लो ढुंगासम्म पुगेपछि त्यहाँ करिब ३० जना बस्न मिल्ने ठाउँसमेत रहेको स्थानीय युवा तारामिलन छन्त्यालले बताए । गोलो आकारको ढुंगाको माथिल्लो भागमा बसेर मिनी वनभोजको समेत आयोजना गर्न सकिन्छ ।

प्राचीनकालमा तपस्या गर्ने गएका सप्तऋषिले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्त ऋषि बेलढुंगासमेत भन्ने गरिन्छ । स्वर्गाआश्रमदेखि बेलढुंगासम्म प्राचीनकालमा सप्तऋषिले तपस्या गरेका स्थान अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जोखिमपूर्ण तरिकाले पुगे पनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् ।

हरेक वर्षको वैशाख १ गते स्वार्गाआश्रममा हुने पूजामा सरोकारवाला निकायलाई समेत निमन्त्रणा गरी भित्र्याउने गरिएको छ । बेनी नगरपालिकाले नगरभित्रका पर्यटकीयस्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिने जनाएको छ । नगरभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने नगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु