टाटाको टिगोर इलेक्ट्रिक कार बन्यो, यस्ता छन् बिशेषता, मूल्य कति ?



काठमाडौं । टाटा मोटर्सले भारतको गुजरातस्थित सनन्द प्लान्टमार्फत टिगोर इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । टाटा मोटर्सको पहिलो विद्युतीय कार टिगोर ईभी भएको कम्पनीले जानकारी दिएको छ । यद्यपि सो कार हाल भारतीय सरकारद्वारा सञ्चालित इनर्जी इफिसियन्सी सर्भिसेज (ईईएसएल) लाई उपलब्ध गराइने छ ।

टाटा मोटर्सका अध्यक्ष एन. चन्द्रशेखरन, टाटा ग्रुपका अध्यक्ष रतन टाटा र टाटा मोटर्स हेड गुएन्टर बुट्सचेकले एक कार्यक्रमका बीच फ्ल्याग अफ गरी टिगोर ईभी सार्वजनिक गरेका छन् ।

टिगोर ईभीका लागि इलेक्ट्रा ईभीले इलेक्ट्रिक ड्राइभ सिष्टम विकास गरेको हो । इलेक्ट्रा ईभीले नै टाटाको अर्को विद्युतीय कार ‘नियो’ का लागि ४८ भोल्टको इलेक्ट्रिक सिष्टम उपलब्ध गराएको छ । नियो चाहिं टाटाको नानो कारमा आधारित विद्युतीय कार हो । हाल टाटा मोटर्सले ईईएसएलका लागि मात्र टिगोर ईभी उपलब्ध गराउने छ । मास मार्केटमा टिगोर ईभी आउन भने केही समय लाग्ने बताइएको छ ।

टाटा मोटर्सले पहिलो चरणमा १० हजार कार र ५ सय अन्य गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो । कम्पनीले ११ लाख २० हजारमा सो कार उपलब्ध गराउने गरी टेन्डर प्राप्त गरेको थियो ।

पहिलो चरणमा कम्पनीले २ सय ५० टिगोर ईभी उपलब्ध गराउने छ । त्यसपछि दोस्रो चरणमा १ सय ईभी । बाँकी १ सय ५० ईभी भने महिन्द्राले उपलब्ध गराउने छ । महिन्द्राले पनि आफ्नो विद्युतीय कार ई–भेरिटो यसका लागि तयार राखेको छ ।

सो अवसरमा बोल्दै टाटा मोटर्सका सीईओ तथा एमडी गुएन्टर बुट्सचेकले राम्रो टिम वर्कका कारण टाटा मोटर्स ई–मोबिलिटीको नया यात्रामा प्रवेश गरेको र आगामी दिनमा भारतीय बजारमा विद्युतीय गाडीको फुल रेन्ज प्रदान गर्नका लागि सक्षम हुने विश्वास ब्यक्त गरे ।


क्लिकमान्डु