एनआइसी एशिया बैंकमा यसरी भयो ४१ करोडको स्वीफ्ट काण्ड



काठमाडौं । एनआइसी एशिया बैंकको विदेशमा रहेको खाताको करोडौं रकम स्वीफ्टमार्फत् विभिन्न विदेशी बैंकमा पठाइएको भेटिए पछि ‘स्वीफ्ट’ काण्डले बजार तताएको छ ।

कसरी ‘स्वीफ्ट ह्याक’ गरी विदेशमा रकम पठाइयो भन्ने चौतर्फ चासो छ । यसबारे हामीले अनुसन्धानमा संलग्न राष्ट्र बैंकका अधिकारी र एनआइसी एशिया बैंकका कर्मचारीहरुसँग यो घटना बारे कुरा गरेका थियौं ।

यस्तो छ घटना बिबरण

‘काग तिहारको दिनदेखि नै बैंकको बैंकिङ कारोबारमा समस्या देखियो,’ बैंकका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘अनि हामीले बैंकिङ सिस्टम र बैंकले प्रयोग गर्दै आएको फिनाकल सफ्टवेरमा समस्या भएको हो कि भनेर यसको रिकोभरी गर्न लाग्यौं ।’

ती अधिकारीका अनुसार कुकुर तिहारको दिन साँझ सफ्टवेर रिकोभरी भयो । तर, बैंकबाट पेमेन्ट गएको सिस्टममा देखिएपछि कर्मचारीहरु आत्तिए । त्यसपछि उनीहरुले स्वीफ्ट खोले ।

‘स्वीफ्ट खोलेर हेर्दा त धमाधम पेमेन्टका लागि अर्डर पठाएको देखियो,’ ती कर्मचारीले भने, ‘त्यसपछि स्वीफ्टको मूख्य सर्भर नै बन्द गर्यौं । तर यसबेला सम्ममा ४१ लाख डलर अर्थात् ४१ करोड नेपाली रुपैयाँ बराबरको अर्डर गइसकेको रहेछ ।’

यसरी स्वीफ्ट मार्फत् अर्डर गएको थाहा पाएपछि बैंकका अधिकारीहरुले राष्ट्र बैंकलाई खबर गरे । तर, बिदा भएकाले राष्ट्र बैंकका अधिकारीहरुले तत्काल एनआइसी एशिया बैंक गएर अध्ययन गर्न पाएनन् ।

राष्ट्र बैंकको टोली आइतबार एनआइसी एशिया बैंक गएर अध्ययन गरेको छ । अध्ययनमा संलग्न कर्मचारीका अनुसार लक्ष्मीपूजाको दिन स्वीफ्ट खोलेर चेक नगरेको भए बिदेशी बैंकमा रहेको बैंकको अर्बौं रकम रकमान्तर भइसक्ने थियो ।

‘लक्ष्मीपूजापछि पनि २ दिन बिदा थियो, लक्ष्मीपूजाको दिन स्वीफ्ट खोलेर चेक नगरेको भए बैंकले अर्बौं रकम गुमाउन सक्थ्यो,’ ती अधिकारीले भने, ‘छिट्टै थाहा भएकाले सानो रकम मात्रै गुम्ने खतरा छ ।’

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार बैंकबाट ४१ करोड रुपैयाँको अर्डर गएको र जसमध्ये १० करोड रुपैयाँ पेमेन्ट भइसकेको भेटिएको छ ।

‘हामीले जुन जुन देशमा अर्डर गरिएको छ ती देशका केन्द्रिय बैंकलाई यस्तो अर्डरको भुक्तानी नगर्न पत्राचार गरिसकेका छौं, पेमेन्ट हुन बाँकी रहेको ३१ करोड रुपैयाँ रोकिन्छ,’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

पेमेन्ट भइसकेको १० करोड रुपैयाँमध्ये पनि अधिकांस संस्थाको खातामा गएको पाइएकाले त्यो रकम पनि फिर्ता हुने राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ ।

‘यो घटनाबाट बैंकले रकम गुमाउनु पर्दैन, राष्ट्र बैंकले पहल गरेर फिर्ता गरिदिन्छ,’ उनले भने, ‘तर, नयाँ जोखिम भने देखाएको छ । किनभने नेपाली बैंकहरुमा अहिलेसम्म स्वीफ्टमार्फत यस्तो घटना भएको थिएन ।’

सर्वसाधारणलाई कुनै असर पर्दैन

यो घटनाले बैंकमा रकम राख्ने सर्वसाधारणलाई कुनै पनि असर नगर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘बैंकले विदेशमा विदेशी बैंकमा खाता खोलेर राखेको पैसा ह्याकरले स्वीफ्टको पासवर्ड ह्याक गरि भुक्तानीका लागि विदेशी बैंकलाई अर्डर गरेको हो,’ उनले भने, ‘जसले सर्वसाधारणलाई कुनै पनि असर गर्दैन ।’

ह्याकरले गरेको अर्डर अस्वीकार गर्न राष्ट्र बैंकले सम्बन्धीत देशका केन्द्रिय बैंकलाई पत्राचार गरिसकेकाले बैंकलाई पनि कुनै समस्या नपर्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले भनेपछि अनुसन्धान गर्छौंः सीआइबी

यो घटना बारे राष्ट्र बैंकले छानविन सुरु गरिसकेको छ । त्यसैगरी बैंकले पनि भारतबाट विज्ञ टोली बोलाएर छानविन थालेको छ । राष्ट्र बैंकले छानविन गरिसकेपछि घटनाको अवस्था हेरेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोलाई थप छानविनका लागि निवेदन दिने ति अधिकारीले बताए ।

यो घटनाबारे राष्ट्र बैंकले अनुसन्धान थालिसकेको र अहिलेसम्म सीआइबीमा छानविनका लागि अनुरोधन नआएको सीइआइबी प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

‘बैंकिङ फ्रड भएकाले पहिले राष्ट्र बैंकले हेर्छ, राष्ट्र बैंकले हामीलाई छानविन गर्नुपर्यो भनेपछि मात्रै हामी छानविन थाल्छौं,’ कार्कीले भने ।


पुष्प दुलाल