ग्राहकको १ रुपैयाँ पनि हिनामिना भएको छैनः एनआइसी एशिया बैंक



अहिले बजारमा जे जस्तो हल्ला छन् भनेर मेरो कानमा आइपुगेका छन्, त्यसमा कुनै सत्यता छैन । कुनै ग्राहकको खाताको रकम हिनामिना भएको छैन । ग्राहकको खाता ह्याक भएको छैन । अनधिकृत रुपमा रकम झिकिएको छैन ।

हाम्रो बैंकले विदेशी बैंकको खातामा राखेको केही पैसामा केही समस्या छ कि भनेर हामीलाई शंका लागेको हो । यस्तो शंका लागेपछि हाम्रो स्वीफ्ट आफैले डाउन गरेर विदेशी विज्ञलाई सहभागी गराएर अनुसन्धान गराइ राखेको अबस्था हो ।

अहिले हाम्रो बैंकको यति पैसा विदेश गयो, बैंकलाई यति पैसा नोक्सान भयो भनेर जुन हल्ला चलेको छ, त्यसमा कुनै सत्यता छैन ।

हामी आफैले हाम्रो स्वीफ्टमा केही शंकास्पद गतिविधि भएको शंका गर्यौं । कुनै अनधिकृत आक्रमण पो भइरहेको छ कि, हाम्रो खाताको पैसा झिक्ने प्रयास पो भइरहेको छ कि भन्ने शंका हामीलाई लागेको मात्रै हो । यसैको लागि हामीले विदेशी विज्ञलाई नेपालमै बोलाएका पनि छौं । विदेशी विज्ञहरु नेपाल आइपुग्दै पनि हुनुहुन्छ ।

अहिले हाम्रो बैंकको यति पैसा विदेश गयो, बैंकलाई यति पैसा नोक्सान भयो भनेर जुन हल्ला चलेको छ, त्यसमा कुनै सत्यता छैन ।

यस्तै नेपाली विज्ञहरुले पनि यो विषयमा अनुसन्धान गरिरहनु भएको छ ।

हाम्रो नियामक निकाय नेपाल राष्ट्र बैंक हो । यो बिषय हामीले राष्ट्र बैंकलाई पनि जानकारी गराएका छौं । स्वीफ्ट नै डाउन गर्ने भनेपछि यो बिषय राष्ट्र बैंकलाई पनि जानकारी गराउनु पर्छ ।

हामीले स्वीफ्टको सर्भर मात्रै डाउन गरेका हौं । सर्भर भन्ने वित्तिकै बैंकमा पैसा पनि राख्न नमिल्ने र झिक्न पनि नमिल्ने भनेर बुझ्ने गरिएको पनि पाइन्छ । तर यस्तो होइन । स्विफ्टको सर्भर भनेको छुट्टै हो । कोर बैंकिङको सर्भर भनेको छुट्टै हो ।

आज हाम्रा १३३ वटै शाखा राम्ररी चलेका छन् । सबैमा ग्राहकले सजिलैसँग पैसा राख्नु र झिक्नु भएको छ । कहीँ पनि समस्या छैन । स्वीफ्ट भनेको विदेशी बैंक वित्तीय संस्थासँगको कारोबारमा प्रयोग हुने सर्भर मात्रै हो । नेपालमा आन्तरिक कारोबारमा कुनै समस्या छैन । यो बिषयमा सम्बन्धित सबै जना प्रष्ट हुनुभए हुन्छ ।

म थप स्पष्ट पार्न चाहन्छु कि कुनै पनि खाताबाट कसैको पनि एक रुपैयाँ पनि यताउता भएको छैन । यो हाम्रो बैंकको विदेशी बैंकको खातामा रहेको पैसा केही गढबडी भयो कि भन्ने शंका मात्रै हो । यकिन रुपमा यति पैसा झिकिएछ वा हिनामिना भएछ भन्ने अबस्था पनि होइन । हामी आफैलाई शंका लागेर हामीले पूर्वसतर्कता अपनाएका मात्रै हौं ।

एनआइसी एशिया बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत न्यौपानेसँग गरिएको कुराकानीमा आधारित


क्लिकमान्डु