बिदेशमा बस्ने महिला दुधे बच्चालाई छोडेर हिड्ने कि गैरकानुनी रुपमा बस्ने भन्नेमा छन्




एनआरएनएको ८औं विश्व सम्मेलनमा मैले महिला उपाध्यक्षको पदमा उम्मेद्वारी दिने निर्णय गरेकी छु । एनआरएनएको नेतृत्वमा गएर एनआरएनए अभियानलाई अझै सशक्त र प्रभावकारीरुपमा अघि बढाउने मेरो मुख्य उद्देश्य हो ।

अब प्रश्न उठ्न सक्छ नेतृत्वमा मलाई नै किन छान्ने त ? यो बिषयमा पनि केही प्रष्ट पारौं ।

एनआरएनए अभियानसँग मेरो लामो साइनो छ । अध्ययनका क्रममा रसिया पुगेकी म सन् २००५ देखि एनआरएनएमा आवद्ध भएको कुरा यो अभियानसँग सरोकार राख्नेहरुलाई पक्कै पनि थाहा छ ।

हामीले नेतृत्व चयन गर्दा विगतमा उसले गरेका कामहरुको समीक्षा गर्नुपर्छ । उसले विगतमा संगठनको हितका निम्ति के कस्ता कामहरु गरेको छ भन्नेले नै आगामी दिनमा संगठनलाई बलियोसँग अघि बढाउन सक्छ कि सक्दैन भन्ने मापन गर्न सकिन्छ ।

मैले एनआरएनएको महिला संयोजककोरुपमा एक कार्यकाल काम गरिसकेको छु । महिला विभागको संयोजक भएर काम गर्दा मैले २८÷३० देशमा गएर त्यहाँ भएका एनआरएन महिला दिदीबहिनीहरुसँग अत्यन्तै नजिक भएर काम गर्ने मौका पाएँ । विदेशमा कार्यरत महिलाहरुले के कस्ता समस्याहरु भोगिरहेका छन् र ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मसँग अनुभव र ज्ञान दुबै छ । जसकारण आगामी कार्यकालमा म नेतृत्वमा आएँ भने पहिचान भएको ती यावत समस्याहरुको समाधान गर्न सुरुदेखि नै सक्रियरुपमा काम थाल्ने छु ।

कुनै पुरुषले विदेशमा रहँदा बिदेशी महिलाबाट बच्चा जन्मायो भने उसले नेपाल ल्याएर नागरिकतासमेत बनाइदिन सक्छ । तर, किन महिलाले पुरुषले पाएको यो अधिकारको उपयोग गर्न पाइरहेका छैनन् ?

करीब ५० लाख नेपालीहरु विदेशमा कार्यरत भएको अनुमान गरिएको छ । जसमध्ये १० प्रतिशत अर्थात ५ लाख महिलाहरु छन् । धेरै देशमा महिला विभाग गठन पनि भइसकेको छ । तर अहिले जम्माजम्मी २० हजार महिलाहरु मात्रै एनआरएनएमा आवद्ध हुनुहुन्छ ।

मेरो पहिलो प्राथमिकता अधिकतम महिलालाई एनआरएनएमा आवद्ध गर्नु हुनेछ । यहाँ आवद्ध भएपछि के कस्ता फाइदाहरु हुन्छन् भनेर उहाँहरुलाई बुझाउनु छ । र, उहाँहरुमा चेतनाको कमी छ, चेतना बढाउनु छ ।

एनआरएन महिलाहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेको विदेशमा रहँदै विदेशी बाउबाट बच्चा जन्मिँदाको अवस्थामा हो । यसरी विदेशी बाउबाट जन्मिएका बच्चा लिएर एनआरएन महिलाहरु नेपाल आउन सक्दैनन् । यस्ता बच्चाहरुलाई नेपाल सरकारले नागरिकताको त कुरा छाडौं, ट्राभल डकुमेन्टसमेत दिँदैन । म नेतृत्वमा आएँ भने बिदेशी बाउबाट जन्मिएका बच्चाहरु आफ्नी आमासँग नेपाल जान पाउने व्यवस्थाका लागि ठूलो लबिङ गर्छु ।

कामकै शिलशिलामा बच्चा जन्मिन्छ । तर, उसको काम र भिषाको अबधि सकिएको छ भने कुनै नारीले दुध खाँदै गरेको बच्चा लिएर नेपाल फर्किन सक्ने अवस्था छैन । काखको बच्चा छाडेर कुन चैं आमा नेपाल फर्किन सक्छन् र ? त्यसैले यस्ता नारीहरु विदेशमै गैरकानूनीरुपमा काम गरेर बस्न बाध्य छन् । वास्तवमै भन्दा नेपालको कानूनले एनआरएन महिलामाथि अन्याय गरेको छ ।

यदि कुनै पुरुषले विदेशमा रहँदा बिदेशी महिलाबाट बच्चा जन्मायो भने उसले नेपाल ल्याएर नागरिकतासमेत बनाइदिन सक्छ । तर, किन महिलाले पुरुषले पाएको यो अधिकारको उपयोग गर्न पाइरहेका छैनन् ? यो विषय आगामी नेतृत्वले गंभरीरतापूर्वक उठाउनु पर्छ ।

अर्को कुरा के छ भने सरकारले हजारभन्दा बढी नेपाली महिला भएको देशमा ‘सेल्टर हाउस’ स्थापना गर्ने भनेको छ । केही देशमा स्थापना भएको पनि छ । करिब ३५/४० देशमा हजारभन्दा बढी नेपाली महिला छन् । आगामी नेतृत्वले ती देशहरुमा सेल्टर हाउस स्थापनाका लागि विषेश प्राथमिकता दिनुपर्छ ।

त्यसैगरी, विदेशमा रहेका अधिकांस महिलाहरु अरुको काम गर्छन् । पुरुषहरुले भने आफ्नै व्यापार व्यवसाय पनि गरिरहेका छन् । पुरुषहरुसँगको साथ र सहयोगमा महिला दिदीबहिनीहरु साझेदार बनेर विदेशमै व्यापार व्यवसाय गर्ने वातावरण बनाउनका लागि मैले केही अबधारणाहरु बनाएकी छु । यसको उद्देश्य के हो भने महिलाहरु पनि उद्यमी बनुन्, आत्मनिर्भर बनुन् । र, आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न सक्षम हुन् भन्ने हो । यी र यस्तै काम गर्नको लागि मैले आगामी अधिबेशनमा महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हूँ ।
(एनआरएनएको महिला उपाध्यक्षकी उमेदवार राजभण्डारीसँगको कुराकानीमा आधारित)


क्लिकमान्डु