अर्बौंको आइपिओ जारी गर्न यसरी अघि बढ्दैछन् पाँच दर्जन निजी उद्योग



काठमाडौं। दर्जनौं निजी उद्योगहरुले सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएका छन् । त्यसका लागि उनीहरुले प्रक्रियासमेत अघि बढाइसकेका छन् ।

केही समयअघि मात्रै अर्घाखाँची सिमेन्टले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीमा रुपान्तरणका लागि आवेद न दियो ।

कम्पनी रजिष्ट्रारले पब्लिक कम्पनीमा रुपान्तरणको अनुमति दिएपछि धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनका लागि अनुमति दिने सिमेन्टका सञ्चालक पशुपति मुरारका बताउँछन् ।

‘अबको १ वर्षभित्रमा सर्वसाधारणले अर्घाखाँची सिमेन्टको आइपिओ किन्न पाउने छन्,’ मुरारकाले क्लिकमाण्डूसँग भने ।

गत मंसिर पहिलो साता नेपाल धितोपत्र बोर्डले नयाँ दर्ता तथा निष्काशन नियमावलीमा वास्तविक क्षेत्र (रियल सेक्टर) अर्थात् निजी उद्योगहरुले पनि आइपिओ जारी गर्न सक्ने प्रावधान गरेको थियो ।

बोर्डले सेयर निष्काशन गर्न चाहने निजी उद्योगले १० प्रतिशत मात्रै साधारण सेयर जारी गर्दा पनि हुने व्यवस्था गरिदिएको छ । त्यसअघि चुक्ता पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्ने व्यवस्था थियो ।

पारिवारिक शैलीमा उद्योगधन्धा चलाइरहेका उद्योगीहरुलाई एकैपटक ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन हिच्किचाउँदै आएका थिए । तर धितोपत्र बोर्डको यो नयाँ प्राबधानसँगै निजी उद्योगहरु आइपिओ जारी गर्न अग्रसर देखिएका हुन् ।

अहिलेसम्म करिब ५ दर्जन निजी उद्योगहरु पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । यी कम्पनीहरुले जारी गर्ने आइपिओ अर्बौं रुपैयाँको हुनेछ ।

उद्योगीहरुले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न पाउनुपर्ने बताउँदै आएका छन् । धितोपत्र बोर्डले पनि प्रिमियम मूल्य जोडेर आइपिओ निकाल्न दिने भनिसकेको छ । तर, त्यसको मोडालिटी भने तयार पारिसकेको छैन । त्यसैले उद्योगहरुको आइपिओ पहिलेको जस्तै १०० रुपैयाँमै किन्न पाउने संभावना भने कम छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको प्रमाणपत्र नपाएसम्म निजी कम्पनीहरुले सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदनसमेत दिन नपाउने व्यवस्था भएकाले निजी उद्योगहरु धमाधम कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको अनुमतिका लागि आवेदन दिएका हुन् ।

सुरुमा निजी उद्योगका रुपमा अघि बढेका अधिकांस जलविद्युत उत्पादक कम्पनीहरु पब्लिक कम्पनीमा रुपान्तरण भइसकेका छन् ।

पछिल्लो समय सिमेन्ट उत्पादक, सेवा उद्योग र कलेज लगायत बिभिन्न क्षेत्रका उद्योगहरु पब्लिकमा रुपान्तरण भएका हुन् ।

शिवम सिमेन्ट, कालिन्चोक दर्सन, सीजी फिन्को, आईएमई रेमिट्यान्स, एससिटी, चन्द्रागिरी हिल्स, डिसहोम, नेपाली उत्पादन घर लगायतका उद्योगहरु पब्लिक कम्पनीमा परिणत भइसकेका छन् ।

त्यस्तै, प्रभु समूहको लुम्बिनी मेडिकल कलेज, नेशनल बैकिङ इन्स्टिच्युट, त्रिबेणी इन्टरनेशनल कलेज, क्रेडिट इन्फर्मेसन सेन्टरलगायतका निजी उद्योगहरु पब्लिक कम्पनीमा रुपान्तरण भइसकेका छन् ।


क्लिकमान्डु