सेवा प्रदायकसँग आयोगको छलफल, अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध गराउन निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा सोमबार हुने स्थानीय तहको निर्वाचनका समयमा निर्वाधरुपमा सञ्चार, विद्युत् तथा खानेपानी सेवा उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित मन्त्रालयका सचिव र  सेवा प्रदायक संस्थाका प्रमुखसँग निर्वाचन आयोगमा आइतवार छलफल गरेको छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विद्युत्, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध हुने किसिमले काम गर्न सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिए ।

आयुक्त सुधीरकुमार शाहले विद्युत्, सञ्चार र खानेपानी सेवाका साथसाथै सम्पूर्ण निर्वाचन व्यवस्थापनमा उच्चस्तरको सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकाय सजक हुनुपर्ने बताए ।

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले स्थानीयस्तरमा विद्युत्, सञ्चार र खानेपानी सेवा उपलब्ध गराउने सन्दर्भमा स्थानीय तहमै कार्यरत कर्मचारीलाई सजग एवं पूर्णजिम्मेवार बनाएर काम गर्न सुझाव दिए।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयले प्रदेश नं २ का सबै स्थानीय तहमा सञ्चार सेवा निर्वाधरुपमा सञ्चालन गर्न सम्बद्ध सञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको र सबै ठाउँमा सेवा सुचारु भएको जानकारी दिए । उनले कुनै कारणले सेवा अवरुद्ध भएमा तुरुन्त सञ्चालन गर्ने व्यवस्थासमेत मिलाइएको बताए ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले प्रदेश नं २ मा हुने निर्वाचनलाई दृष्टिगत गरी निर्वाध विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले आठवटा जिल्लाका सबै मतदान केन्द्रमा खानेपानीको उचित व्यवस्था गरिएको र मतदान केन्द्रमा खानेपानीको समस्या नहुने बताए।


क्लिकमान्डु