सरकारले चिनी मिलसँग विजुली किन्ने पक्का, दुई उद्योगसँग सम्झौता



संकेतिक तस्बिर

काठमाडौं । मुलुकको ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ सरकारले दुई चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया सुरु गरेको छ ।

विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहकाअनुसार इन्दुशंकर सुगर मिल र एभरेस्ट सुगर मिलसँग तीन /तीन मेगावाट विद्युत् खरिद गर्ने तयारी गरेको हो ।

विद्युत् खरिद सम्बन्धी प्रारम्भिक सम्झौतामा आज विभाग र दुवै चिनी मिल सञ्चालबीच हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सरकारले २०७२ साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा संकटकालीन कार्ययोजनाअनुसार ऊर्जाका विविध स्रोतहरुको पहिचान गर्ने र त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने उल्लेख गरेको छ ।

तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ २ गते चिनी उद्योगको बगासबाट विद्युत उत्पादन गर्ने निर्णय गरेको थियो ।

विभागका महानिर्देशक सिंहकाअनुसार ती उद्योगले महोत्तरीको गौशाला, रामनगर र सर्लाहीको हरिवनमा चिनी उत्पादन गर्दै आएका छन् ।

चिनी उत्पादनबाट खेर गएको बगासलाई प्रयोग गरेर ऊर्जा उत्पादन गरिने भएकाले औद्योगिक सामग्री समेत खेर जाँदैन ।

उद्योगले उत्पादन तथा उपयोग गरी उब्रेको विद्युत नेपाल विद्युत प्राधिकरणको नजिकको सबस्टेसनमा जडान गर्ने जनाएको छ ।

एभरेष्टले आफ्नो उद्योगदेखि १२ किलोमिटर दूरीमा रहेको औरही सबस्टेसन र इन्दु शंकरले १५ किलोमिटर दूरीको हरिपुर सबस्टेसनमा विद्युत उपलब्ध गराउने भएका छन् । तर सवस्टेशनबाट प्रसारण लाइनको दुरी टाढा भएकाले जटिलता आउन सक्ने देखिएको छ ।

एभरेष्टले मंसिर १५ देखि चैतसम्म ८१ लाख किलोवाट आवर र इन्दुशंकरले पुसदेखि चैतसम्म र ८६ लाख ४० हजार किलोवाट आवर विद्युत उपलब्ध गराउने विवरण पेस गरेको महानिर्देशक सिंहको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ २ गते चिनी उद्योगको बगासबाट विद्युत उत्पादन गर्ने निर्णय गरेको थियो ।

विभागले हिउँदका ६ महिना ८.४० र बर्खाका ६ महिना ४.८० रुपैयाँमा विद्युत् खरिद गर्नेछ ।

सोही निर्णयका आधारमा विभागले २०७३ वैशाख १३ गते चिनी मिलबाट विद्युत् बेच्न इच्छुक मिललाई प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार इच्छुक उद्योगसँग करार सम्झौता गरी विद्युत सहउत्पादन गर्न सकिने प्रावधान रहेको छ ।

अन्नपूर्ण सुगर एन्ड जनरल इन्ड्रष्ट्रिजसँग पनि केही समयभित्रै सम्झौताको तयारी गरिएको महानिर्देशक सिंहको भनाइ छ । अन्य सँग पनि छलफल जारी रहेको छिट्टै सम्झौता हुने उनले बताए ।

सुनवलको लुम्बिनी चिनी उद्योग तथा सोही जिल्लाको कुडियास्थित वागमती खाँडसारी चिनी मिल्स, कैलालीको बासुलिंग सुगर मिल र कन्चनपुरको महाकाली सुगर इन्ड्रष्ट्रिजले आवेदन दिएका थिए । तर ती सबै मिलसँग विद्युत् लिने गरी आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

पहिलो चरणमा विद्युत् उपलब्ध गराउने सम्झौता गर्ने र सबै प्रक्रिया सम्पन्न भएपछि जडान सम्झौता गर्ने विभागको तयारी छ ।

विभागले हिउँदका ६ महिना ८.४० र बर्खाका ६ महिना ४.८० रुपैयाँमा विद्युत् खरिद गर्नेछ ।


क्लिकमान्डु