एनआईडिसीको पब्लिक सेयर सरकारले किन्ने




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएपछि सोमबारदेखि यसको सेयर कारोबार रोकिएको छ ।

पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकमा लगभग पूर्ण सरकारी लगानीको एनआईडिसी डेभलपमेन्ट बैंक मर्ज हुन लागेको हो ।

एनआईडिसी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको सेयर लगानी ०.७४ प्रतिशत छ । एनआईडिसीका अनुसार ५ सय १९ जनासँग एनआईडिसीको सेयर रहेको छ । वाणिज्य बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछि यसले राष्ट्रिय वाणिज्य बैंकको नामबाट कारोबार गर्ने सहमति भएको छ ।

राष्ट्र बैंकले एउटै समूहले प्रवद्र्धन गरेका बैंक तथा वित्तीय संस्थालाई मर्जर गर्ने नीति लिएको छ । निजी लगानीबाट एउटै समुहले प्रवद्र्धन गरेका फरक फरक संस्था मर्जरमा गएपनि वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्टको मर्जर प्रक्रिया भने अबरुद्ध हुदै आएको थियो ।

मर्जरपछि सर्वसाधारणलाईं सेयर जारी नगरेपनि न्यून मात्रामा भएपनि वाणिज्य बैंकमा सर्वसाधरणको सेयर लगानी हुने छ । यसरी हेर्दा वाणिज्य बैंकको सेयर सेयर बजारमा सूचिकृत हुनेछ ।

तर, वाणिज्य बैंकले सर्वसाधारणलाई जारी गर्नुपर्ने ३० प्रतिशत सेयर जारी गरेको छैन । विगतमा औद्योगिक विकास निगमको रुपमा स्थापना भएको एनआईडिसीले पनि सर्वसाधारणलाई जारी गर्नुपर्ने अनुपातको सेयर जारी गरेको छैन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा बैंक तथा वित्तीय संस्थाले न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्नुपर्ने व्यवस्था छ । तर, उल्लेख्य सरकारी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाको हकमा न्यूनतम ३० प्रतिशत सेयर जारी गनुपर्ने बाध्यता छैन । जसले गर्दा वाणिज्य बैंकले ३० प्रतिशत सेयर जारी नगर्दा पनि हुन्छ ।

तर, मर्जरपछि भने अन्त्यन्त न्यून भएपनि वाणिज्य बैंकमा सर्वसाधरणको लगानी हुन्छ । एनआइडिसीमा सर्बसाधारणको सेयर हिस्सा ०.७४ प्रतिशत छ । बाणिज्य बैंकमा मर्जरपछि सर्बसाधारणको सेयर हिस्सा धरै नै घट्ने छ । यसकार सेयर स्वामित्वले संचालक समितिमा प्रतिनिधित्व गर्न नसकेपनि सर्वसाधारणको लगानी हुने हुँदा मर्जर प्रक्रिया सकिएपछि यसको सेयर कारोबारको लागि स्टक एक्सचेन्जमा खुुल्ला गर्नुपर्छ ।

बाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्बसाधारणलाई जारी गर्ने बिषयमा यसअघि धेरै पटक चर्चा भएको थियो । तर, गत बर्ष मात्रै संसोधन भएको बाफियामा उल्लेख्य सरकारी लगानी भएको बैंक तथा वित्तीय संस्थाको सेयर सर्बसधारणलाई नदिदा पनि हुने ब्यवस्था छ । बाफियामा यस्तो ब्यवस्था पछि सो बैंकको सेयर सर्बसाधारणलाई दिने विषयले कम प्राथमिकता पाउँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले भने एनआईडिसी डेभलपमेन्ट बैंकलाई गाभ्दा एनआईडिसीमा भएको ०.७४ प्रतिशत सेयर सर्वसाधरणबाट सरकारले खरिद गर्नुपर्ने सुझाव दिएको छ ।

बैंकका अध्यक्ष रविन्द्र प्रसाद पाण्डेले एनआईडिसीमा भएको ०.७४ प्रतिशत सर्वसाधरणको सेयर सरकारले खरिद गर्नुपर्ने सुझाव दिएको बताउँछन् ।

‘स्वेछिक रुपम सेयर बिक्री गर्न सर्वसाधारण इच्छुक भएमा यो खरिद गर्नुपर्ने हाम्रो सुझाव हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने, ‘कसैले बिक्री नगरेमा सर्वसाधरणको लगानी मर्जर पछि वाणिज्य बैंकमा आउने छ ।’

उनले न्यूनतम ३० प्रतिशत सेयर सर्बसाधारणमा जारी गर्ने वा नगर्ने भन्ने विषय भने अहिले टुंगो नलागेको बताए ।

‘हाम्रो ध्यान दुईवटा बैंकलाई पहिला मर्जर गर्ने भन्नेमा छ,’ उनले थपे, ‘त्यसपछि मात्रै आइपिओ जारी गर्ने वा नगर्ने भन्ने निर्णय हुन्छ ।’

मर्जर सम्झौता पछि सोमबारदेखि एनआईडिसी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का छ । कारोबार रोक्का हुनु अगाडि एनआईडिसी डेभलपमेन्ट बैंकको सेयर मुल्य प्रतिकित्ता १५० रुपैयाँमा कारोबार भएको थियो । यसको नियमित सेयर कारोबार हुने गर्दैन ।

यस्तो छ वित्तीय अवस्था
८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड नाफा गरेको थियो ।

वित्तीय सुधार कार्यक्रम अन्तर्गत विश्व बैंक र डिएफआइडीको सहयोग लिएर बैंकको सुधार भएको हो । बैंकको रिजर्र्बमा पनि यो वर्षदेखि उल्लेखनीय सुधार भएको छ ।

वाणिज्य बैंकको रिजर्बमा ३ अर्ब ११ करोड छ । यस्तै बैंकसँग असार मसान्तसम्ममा १ खर्ब ५३ करोड निक्षेप छ भने कर्जा १ खर्ब ६ करोड रुपैयाँ छ ।

यस्तै एनआईडिसी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा २१ करोड नाफा गरेको थियो ।

चुक्ता पुँजी र नाफा कम भएपनि एनआईडिसीको वाणिज्य बैंकसँग भएको भन्दा बढी रिजर्ब रहेको छ । एनआईडिसीसँग ३ अर्ब २६ करोड रुपैयाँ रिजर्भमा छ ।


क्लिकमान्डु