सिमेन्ट किन्दै हुनुहुन्छ ? कुन सिमेन्टको मूल्य कति, कस्तो गुणस्तर ?
काठमाडौं । भौतिक संरचना विकासको क्रममा मेरुदण्ड मानिने सिमेन्ट उद्योगहरु नेपाली बजारमा प्रसस्तै खुलेका छन् । र, खुल्ने क्रममा समेत छन् । हाल नेपालमा ४० लाख मेट्रिक टन सिमेन्ट खपत हुने गरेको छ ।
नेपालमा वार्षिक हाराहारी ९ करोड बोरा सिमेन्ट खपत हुने गरेको छ । निजी क्षेत्रको लगानीमा खुलेका अर्घाखाँची, जगदम्बा, मारुति, अम्बे, अग्नि, वृज, सर्बोतम, शक्तिमान, शिबम्, यूनाइटेड, सगरमाथा, गोयन्का, सिद्धार्थ लगायतका सिमेन्टले राम्रैसँग बजार बिस्तार गरिरहेका छन् ।
यसरी नेपालमा सिमेन्ट उद्योगको बिस्तारले ५ बर्षअघि अर्बौ रकम बराबरको सिमेन्ट बाहिरबाट आउने गरेकोमा अहिले नेपाली उत्पादनले माग धान्न सक्ने अबस्था आएको छ ।
अहिले अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा सिमेन्टको गुणस्तरमा पनि द्रूत गतिमा सुधार आएको छ ।
अहिले नेपाली बजारमा दुई किसिमको पीपीसी र ओपीसी सिमेन्ट बिक्री बित्तरण भइरहेको छ । सामान्यत पीपीसी सिमेन्टको प्रयोग गरेर वाल लगाउने र प्लाष्टर गर्ने काम भइरहेको छ भने अीपीसी सिमेन्टको प्रयोग पिलर र ढलानमा हुँदै आएको छ ।
कसको मुल्य कति ?
अहिले बजारमा उपलब्ध पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ६ सय ४० देखि ६ सय ८० रुपैयाँसम्म रहेको छ । यसमा सरकारलाई तिर्ने भ्याट रकम जोडीएपनि फ्याक्ट्रीदेखि उपभोक्ताको घरसम्म लाने भाडा जोडिएको छैन ।
उत्पादन हुने ठाँउदेखि बजारसम्म लाने भाडा जोडर बिक्रेताले सिमेन्ट बेच्दा २६ रुपैयाँ देखि ११० रुपैयाँसम्म थप रकम उपभोक्ताले तिर्नुपर्ने हुन्छ ।
पीपीसी सिमेन्ट
ब्राण्ड नाम | प्रकार | फ्याक्ट्री मूल्य |
जगदम्बा | पीपीसी | ६८० |
सर्बोतम | पिएससी | ६६० |
कसमस (तेज) | पीपीसी | ६४१ |
ओरियन्ट, त्रिदेब र अग्नी | पीपीसी | ६७० |
सगरमाथा | पीपीसी | ६४० |
शक्तिमान | पीपीसी | ६७० |
ओपीसी सिमेन्ट
पछिल्ला दिनमा खुलेका अधिकांश उद्योगहरुले ओपीसी सिमेन्ट उत्पादन गरिरहेका छन् । ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ७ सय ४० देखि ८ सय ६० रुपैयाँसम्म रहेको छ । यसमा सरकारलाई तिर्ने भ्याट रकम जोडीएपनि फ्याक्ट्रीदेखि उपभोक्ताको घरसम्म लाने यातायात भाडा जोडिएको छैन ।
ब्राण्ड नाम | प्रकार | फ्याक्ट्री मूल्य |
अर्घाखाँची सिमेन्ट | ओपीसी | ७७५ |
जगदम्बा सिमेन्ट | ओपीसी | ७९० |
यूनाइटेड सिमेन्ट | ओपीसी | ८६० |
सर्बोतम सिमेन्ट | ओपीसी | ७५० |
सगरमाथा सिमेन्ट | ओपीसी | ७४० |
अग्नी सिमेन्ट(अल्फा) | ओपीसी | ७८० |
शिबम् सिमेन्ट | ओपीसी | ८२५ |
मारुती सिमेन्ट | ओपीसी | ७८० (काठमाडौंको लागी) |
गोयन्का सिमेन्ट | ओपीसी | ७७० |
शक्तिमान | ओपीसी | ७७० |
बिशाल सिमेन्ट | ओपीसी | ७७० |
उत्पादन हुने ठाँउदेखि बजारसम्म लाने भाडा जोडर बिक्रेताले सिमेन्ट बेच्दा ८० रुपैयाँ देखि ११० रुपैयाँसम्म थप रकम उपभोक्ताले तिर्नुपर्ने हुन्छ ।
गुणस्तर कस्तो छ ?
अहिले अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा सिमेन्टको गुणस्तरमा पनि द्रूत गतिमा सुधार आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले नमूनाको आधारमा गुणस्तर परीक्षण गरेर मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ ।
विभागले सिमेन्ट उत्पादनको ३ दिन, ७ दिन र २८ दिनको नमूना परीक्षणको आधारमा मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ । त्यसरी परिक्षण गर्दा ३ दिनको सिमेन्टमा १६ एमपीए, ७ दिनको सिमेन्टमा २२ एमपीए र २८ दिनको सिमेन्टमा ३३ एमपीए न्यूनतम हुनुपर्ने मापदण्ड राखेको छ ।
सिमेन्टको गुणस्तर कायम हुन कच्चा पदार्थ अर्थात् चुनढुङ्गाको गुणस्तरले महत्व राख्दछ । नेपालका अधिकांश चुनढुङ्गा खानीहरूमा उपलब्ध हुने चुनढुङ्गा उच्च गुणस्तरको भएको खानी विभागले जनाएको छ ।
नेपालमा उत्पादित सिमेन्टको गुणस्तर परीक्षण गर्न विभागले समय समयमा बजारबाट नमुना लिएर परीक्षण गर्ने गरेको छ । ठूला उद्योगीहरू आफ्नै पनि गुणस्तरमा सचेत भएका छन् ।
विशेषगरी नेपालमा नै क्लिङ्कर उत्पादन गर्ने र ठूलो मात्रामा सिमेन्ट उत्पादन गरेर बजारमा पठाउने सिमेन्ट उद्योगहरूले गुणस्तरमा एकरुपता कायम गर्न लागीपरेका छन् । तथापि बेला-बखत सिमेन्ट उद्योगीहरूले अझै पनि न्यून गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको आरोप लाग्ने गरेको छ ।
नेपालमा हाल करिब ४ सय अर्ब रुपैयाँ सिमेन्ट उत्पादन क्षेत्रमा लगानी भइसकेको छ भने, बैदेशिक लगानी स्विकृत समेत भइसकेको छ ।