काठमाडौंका मेयर विद्यासुन्दरले भने- जनताको सहभागितामा काष्ठमण्डपको पुनर्निर्माण हुन्छ




काठमाडौं । जन सहभागिताको सुनिश्चितताका साथै सवै पक्षको चित्त बुझाएर काष्ठमण्डप मन्दिर पुनर्निर्माणको नेतृत्व लिन काठमाण्डौ महानगरपालिका अग्रसर भएको छ ।
नेतृत्व लिने बिषयमा विवाद हुँदा लामो समयदेखि काष्ठमण्डप पुनर्निर्माणको बिषय अन्यौलमा परेको थियो ।

काष्ठमण्डप पुनर्निर्माणवारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधवार बोलाएको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जन सहभागिताको सुनिश्चितताका साथै डिजाइनसम्बन्धी बिषयलाई सम्बन्धित बिज्ञहरुको राय सुझाव लिएर सम्बोधन गर्ने गरि काष्ठमण्ड पुननिर्माणको नेतृत्व लिनुपर्ने धारणा राखेपछि महानगरपालिका त्यसमा अग्रसरता देखाएको हो ।

सो क्रममा काठमाण्डौ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले स्थानिय समुदायको चासोलाई सम्वोधन गरि जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व लिन आफुहरु तयार रहेको बताए ।

महानगरपालिका सवै पक्षको जिम्मेवार निकाय भएकाले आफुहरुले पुनर्निर्माणको नेतृत्व लिदा समयमै सम्पन्न हुने दावी गरे । प्राधिकरणका सिइओ पोखरेलले जनताको सहभागिता, स्थानियको चासो र प्राविधिक बिषयको पनि उचित सम्बोधन हुने गरि काष्ठमण्डप पुनर्निर्माणमा लाग्न सवैलाई आग्रह गरे ।

विश्व सामु मुलुकको पहिचान बोकेको काष्ठमण्डपको मौलिकता र पहिचानलाई गुम्न नदिने गरि पुरानै शैलीको काष्ठमण्डप पुनर्निर्माण हुनुपर्नेमा जोड दिदै सिइओ पोखरेलले सवै पक्षले यसमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सवै पक्षको सहकार्यमा काष्ठमण्डप पुनर्निर्माणलाई जतिसक्दो छिटो पुर्णता दिनुपर्ने बताए ।

काष्ठमण्डप पुनर्निर्माणका लागि निर्माण सामाग्री बाहेक कतिपय कुरालाई अमानतबाट गर्नेवारे प्राधिकरणले समन्वय गर्नुपर्नेमा दाहालको जोड थियो ।

यद्यपी काष्ठमण्ड पुनर्निर्माणका लागि अभियानका अध्यक्ष बिरेन्द्रभक्त श्रेष्ठले २ महिना अघि काष्ठमण्डप पुनर्निर्माणका लागि भएको ४ पक्षीय समझादरी अनुसार स्थानिय जनताको भूमिकालाई कमजोर बनाउन खोजिएको गुनासो गरे ।

उहाँले महागरपालिकाले काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व गर्दा स्थानिय समुदायको भावना र जनसहभागितालाई नसमेट्न हो कि भन्ने चिन्ता बढेको बताए । पछिल्लो परीक्षणबाट सातौ शताव्दीमा निर्माण भएको पुष्टी भएको काष्ठमण्डप २०७२ सालको भूकम्पमा परि तहसनहस भएको थियो ।


क्लिकमान्डु