हाइड्रो र बीमाको एफपिओलाई एकै नजरले हेर्नु हुन्नथ्योः शिखरका सीइओ पाण्डेको अन्तर्वार्ता
शिखर इन्स्योरेन्स निर्जीबन बीमा कम्पनीहरु मध्ये अग्र स्थानमा छ । यो कम्पनी नेपालमा फरदर पब्लिक अफरिङ (एफपिओ) को पहिलो पटक प्रयोग गर्ने कम्पनी हो । तर, दोस्रो पटक एफपिओ जारी गर्न लाग्दा नियामक धितोपत्र बोर्डले रोकिदिएको छ । आफहरुको मनसाय एफपिओ जारी गरेर कम्पनीलाई बलियो बनाउँदै लैजानेभए पनि नियामकले अन्य क्षेत्रजस्तो सम्झिदिँदा समस्या परेको शिखर इन्स्योरेन्सका सीइओ दिपप्रकाश पाण्डे बताउँछन् । पाण्डेसँग क्लिकमाण्डूले गरेको कुराकानीः
निर्जीबन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स पहिलो स्थानमा छ । यो कसरी संभव भयो ?
यो विगतमा कर्मचारीले गरेको मेहनतको फल हो । पछिल्लो समयमा बीमाको व्यवसाय विस्तार हुनको पछाडी बीमा कम्पनीले क्षति भएपछि भुक्तानी दिन्छन् भन्ने धारणा आम मानिसले भूकम्पपछि बुझे । आम मानिसमा कन्फिडेन्स् बढ्यो । म त कम्पनीको फेस मात्रै काम गरेको कर्मचारीहरुले नै हो । कम्पनीलाई अगाडि बढाएको सबै कर्मचारीहरुले हो ।
भूकम्पपछि बीमाको बजार निकै विस्तार भएको हो ?
बजार विस्तार भएको होइन । मानिसहरुले भूकम्पलाई बिर्सिसकेका छन् । तर, बजार फराकिलो भएको हो । मिडियाका साथीहरुबाट बीमा कम्पनीहरु सहरमुखी भए भन्ने आरोप लाग्ने गरेको हुन्थ्यो । बीमा समितिको निर्देशनसँगै बीमा कम्पनीहरु पनि गाउँ जान थाले । कम्पनीहरु ग्रामीण क्षेत्रसम्म फैलिएको कारणले पनि बजार विस्तार भएको हो ।
हामीलाई काम नगरेर खान लाग्यो भन्ने आरोप लागेको छ । तर, एफपिओ पछि हाम्रो व्यवसाय कसरी विस्तार भएको छ ? त्यो पनि हेर्नुपर्यो । आजको दिनमा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम शुल्क आर्जन भएको छ । दोस्रो पटक पनि एफपिओ जारी गर्न पाएको भए हामी हाम्रो विजनेसको ७० प्रतिशतसम्म रिटेन्सन राख्न सक्ने क्षमताका हुन्थ्यौं ।
कृषि बीमाले बजार विस्तार गर्न ठूलो योगदान दिएको छ । बीमा समितिले हामीलाई यसमा जबरजस्ती पठाएको हो । १७ वटा कम्पनी ७५ वटा जिल्लामा पुग्दा बीमाको बारेमा सचेतना बढाएको छ । यसमा रिस्क पनि बढी छ । एउटा गाईको आयु बढीमा १० वर्ष हुन्छ । तर, कृषि बीमामा क्षतीको भुक्तानी गरिएको छ । केही समस्या नआएको होइन । बजारलाई सुधार गर्ने पनि मौका दिने हो । यो अबधिमा सर्बसाधारणले बीमाप्रति बुझ्ने मौका पाए ।
कृषि बीमामा तपार्इंहरु फसेको होइन ?
होइन । यसमा हाम्रो पनि दायित्व छ । सरकारबाट पैसा आउन ढिलाई भएको हो । सरकारबाटै पैसा नआएमा कसबाट आउँछ । विश्वास सबैभन्दा बढी सरकारलाई नै गर्ने हो । ढिलोचाँडो सरकारबाट पैसा आउँछ । केही समय ढिला भयो भन्दैमा हामी फसेको भन्न मिल्दैन ।
भनेपछि बीमा क्षेत्र नियामकले दवाव दिएपछि मात्र बढ्ने हो ?
बीमा भनेको दवावबाटै व्यवसाय बढ्ने हो । नेपालमा नेपाल बैंक आएपछि नेपाल इस्स्योरेन्स आवश्यकताले आएको थियो । बीमा व्यवसायको एकैपटक विस्तार माओवादी द्धन्द्धको क्रममा डरबाट बढेको थियो । मानिसहरु डराएपछि नै बीमा गर्ने हो । त्योपनि फोर्स नै हो ।
अर्को कुरा केही क्षेत्रमा बीमा अनिवार्य गरेपछि बढ्यो । तेस्रो पक्ष बीमा अनिवार्य भएपछि यसले बीमाको बजार विस्तार गर्यो । यसमा हामीले तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई धन्यवाद् दिनु पर्छ । बैंक होला, तेस्रो पक्ष बीमा होला, कृषि बीमा होला, यसले बजार विस्तार गरेको हो ।
सरकार र नियामक निकायका नीतिले बजार विस्तार भएपछि बीमा कम्पनीले आफैले अहिलेसम्म के गरे ?
हामी नेपालीको आम्दानी निकै कम छ । आम्दानी नबढ्दासम्म्म बीमा बढ्दैन । हामीले बजारमा विश्वास जगाउने काम गरेका छौं । भूकम्पपछि धेरैको बुझाई अब बीमा कम्पनीले तिर्न सक्दैनन् कि भन्ने थियो । तर, हामीले भुक्तानी दियौं । सबै कम्पनीले नै दिए ।
हामीले बजार विस्तारको लागि नयाँ प्रोडक्ट ल्याएका छौं । हाम्रो कम्पनीको कुरा गर्नुहुन्छ भने स्पेशल स्वास्थ्य बीमाको प्रोडक्ट ल्यायौं । मानिसले लिन्छन् वा लिदैनन्, हामीले प्रोडक्ट ल्याएका छौं । हाम्रो शाखा संख्या २३ बाट ५४ हुँदै विस्तार भएको छ । अन्य कम्पनीको विस्तार भएको छ । हाम्रो अर्को वर्ष ७५ वटा शाखा पुगेको हुनेछ ।
साढे १२ करोडको पुँजीबाट सुरु भएको हाम्रो कम्पनीले आजको दिनमा ७० देखि ७५ करोड राजस्व बुझाएको छ । ३५० जनाले रोजगारी पाएका छन् । अर्काे वर्ष ५ सय कर्मचारी पुर्याउने गरी काम गरिरहेका छौं । एभियसन इन्स्योरेन्सको कुरा गर्दा त्यो अनिवार्य पनि छ । नेपालमा भएका सबै हवाई दुर्घटनामा बीमा कम्पनीले क्लेम तिरेका छन् । होइन भने विमान कम्पनीहरु डुब्ने थिए ।
भूकम्पपछि पुर्नबीमाको हाम्रो अनुभव कस्तो भयो ?
बीमा कम्पनी र पुर्नबीमा कम्पनीसँग सम्बन्ध भनेको ग्राहक र बीमा कम्पनीसँग भए जस्तो हो । राम्रो कम्पनीमा गर्यो भने छिटो भुक्तानी पाइन्छ । होइन भने पाइदैन । भूकम्पले हामीलाई पुर्नबीमा कम्पनीलाई चिन्ने मौका दिएको छ । त्योभन्दा ठूलो नोक्सानी हामीले नतिरेको होइन । आजको दिनमा १ करोड रुपैयाँको लस केही होइन । कुनैबेला त्योपनि ठूलो रकम नै हुन्थ्यो । हामीले त्यो अनुसार पुर्नबीमा कसरी तिर्ने भन्ने रणनीति चेन्ज गर्यौ । हामीलाई पैसा विदेश पठाए भन्ने आरोप थियो । हामीले जोखिमलाई बाहिर पठाएको हो भनेर बुुझाउन पनि समय लाग्यो ।
सही नियतले काम गर्नुपर्यो । कमलको फूल टिप्न पनि त हिलोमा जानुपर्छ ।
पुँजीको आधारले पनि बीमा कम्पनी बलियो थिएनन् । मैले मेरो करिअर सुरु गर्दा बीमा कम्पनीको चुक्ता पुँजी ३ करोड रुपैयाँ थियो । शिखरको सुरुवात साढे १२ करोडबाट भएको थियो । आजको दिनमा १ अर्ब पुँजी छ भने नेटवर्थ साढे २ अर्बभन्दा बढी भइसक्यो । शिखरले अहिले ५५ देखि ६० प्रतिशतसम्म रिटेन्सन राख्न सक्ने क्षमता राख्छ । बाँकी बीमा मात्रै पुनर्बीमा कम्पनीमा पठाउने हो ।
हामीले पुँजी बढाउनको लागि एफपिओमा जान लागेका थियौं । तर, हामीले एफपिओ जारी गर्न पाएनौं । हामीलाई राम्रो रुपमा लिइएन । बीमा कम्पनीलाई हाइड्रो पावरसँग तुलना गर्न भएन ।
एकवर्षमा दुईपटक एफपिओ ल्याउनु उचित हो र ? यस्तो आवश्यकता किन पर्यो ?
बजारमा एफपिओको बुझाई नै थिएन । हामीले पहिलो प्रयोग गर्यौं । त्यो सफल भयो । व्यवस्थापनको ध्यान भनेको कम्पनीलाई सफल बनाउने हो । सफल भएको प्रोडक्टलाई पुनः ल्याउन नपाइने भन्ने नहुनुपर्ने हो । हाम्रो साधारणसभाले स्वीकृति दियो, कम्पनी रजिष्ट्रारको कार्यालय तथा बीमा समितिले स्वीकृति दियो । हामीले अन्डरराइटिङ समेत गरेर पठाएका थियौं । अन्डरलाइट गर्ने कम्पनीले तिम्रो एफपिओ बिकेन भने म किनिदिन्छु भनेकै थियो ।
आजको दिनमा राइट आउँछ भनेर सेयर मुल्य बढाइएको छ । क्यापिटल बढेपछि आरओईको प्रेसर आउँछ । म त्यही भएर राइट इस्युमा जाने छैन । गतवर्षको नाफाबाट मलाई सजिलै १ अर्ब पुँजी पुर्याउन समस्या छैन । व्यवस्थापनको रुपमा मैले सेयरधनीको पैसा किन यहाँ लगानी थप्ने ? उहाँहरुले यो लगानी अन्य क्षेत्रमा गर्न सक्नुपथ्र्यो । बजारमा ट्रेण्ड सेटर भएर हिड्नुपर्छ । अरुले पनि हामीलाई पछ्याएका छन् ।
एफपिओले बजारलाई पनि सुधार हुने मौका दिन्थ्यो । आजको दिनमा शिखरको सेयर मूल्य २ हजार रुपैयाँ छ । यो १२ सयदेखि १६ सय रुपैयाँसम्म पाइने हुन्थ्यो । बजार पनि स्थिर हुन्थ्यो । हामी जोखिम लिने संस्था हो । यसकारण हामी जति बलियो भयो बजारलाई उति नै राम्रो हुन्थ्यो । होइन भने किन पुँजी बढाउन पर्यो ? बीमा कम्पनीको पुँजी बढ्नु भने राष्ट्रलाई नै राम्रो कुरा थियो ।
तपाईं भन्दै हुनुहुन्छ कि हामीले राम्रो गर्न खोजेका हौं । त्यसो भए नियामक निकाय धितोपत्र बोर्डले किन रोकेको होला ?
हामीलाई एउटै बास्केटमा राखेर हेरियो । जलविद्युत् र अन्य कम्पनीभन्दा हामी फरक थियौं । एउटै रुपमा हेर्दा राम्रो भएन ।
एफपिओ जारी गर्ने र त्यसबाट आउने रकम रिजर्बमा राखेर बोनस बाँढ्ने गलत नजिर बस्ने थिएन र ?
यसमा नेगोसिएसन गर्न सकिन्थ्यो । म व्यवस्थापन हो । यसलाई व्यवस्थापकीय दृष्टिकोणबाट हेर्न सकिन्थ्यो । कति कुरा पढेर र कति परेर जान्ने हो । मैले हेर्ने भनेको मेरो कम्पनीलाई बलियो बनाउने हो । एकातिर पैसा बढायो भन्ने चार्ज छ । अर्कोतिर पुँजी बढाउन पनि दिइएन । एफपिओ जारी गर्न पाएको भए ४ अर्ब रुपैयाँको नेटवर्थ पुग्ने थियो । नियामकले एफपिओबाट रिजर्बमा जाने पैसा ४ वर्षसम्म बाढ्न नपाउने भनेको भएपनि हुन्थ्यो । यसमा हामीलाई समस्या थिएन । हामी कम्पनीलाई बलियो बनाएर जाने मनसायमा थियौं । कम्पनीको व्यवसाय बढाउनको लगि एउटा अवसर बनाएका थियो ।
हामीलाई काम नगरेर खान लाग्यो भन्ने आरोप लागेको छ । तर, एफपिओ पछि हाम्रो व्यवसाय कसरी विस्तार भएको छ ? त्यो पनि हेर्नुपर्यो । आजको दिनमा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम शुल्क आर्जन भएको छ । दोस्रो पटक पनि एफपिओ जारी गर्न पाएको भए हामी हाम्रो विजनेसको ७० प्रतिशतसम्म रिटेन्सन राख्न सक्ने क्षमताका हुन्थ्यौं । यसले बीमा कम्पनीहरुले देशबाहिर पैसा पठाएका छन् भन्ने आरोप कम गर्न पनि मद्दत पुग्थ्यो । देशकै कम्पनी बलियो भएपछि सबैलाई फाइदा हुन्थ्यो । यहाँ त देशको आवश्यकता भन्दा पनि शिखरले पैसा जम्मा गरेर खान लाग्यो भन्ने आरोप मात्र लगाइयो । यसका सकारात्मक विषयको बहस नै भएन ।
पुँजी बढाउनको लागि एफपिओमै नगएर हकप्रद पनि बिकल्प थियो नि ?
व्यवस्थापनको रुपमा मैले कम्पनीको प्रतिफल पनि हेर्नुपर्छ । आजको दिनको जसरी बीमा कम्पनीहरुको सेयर मुल्य बढेको छ । त्यो हकप्रदको कारण हो । भोलि त्यसको मुल्य घट्छ । आजको दिनमा राइट आउँछ भनेर सेयर मुल्य बढाइएको छ । क्यापिटल बढेपछि आरओईको प्रेसर आउँछ । म त्यही भएर राइट इस्युमा जाने छैन । गतवर्षको नाफाबाट मलाई सजिलै १ अर्ब पुँजी पुर्याउन समस्या छैन । व्यवस्थापनको रुपमा मैले सेयरधनीको पैसा किन यहाँ लगानी थप्ने ? उहाँहरुले यो लगानी अन्य क्षेत्रमा गर्न सक्नुपथ्र्यो । बजारमा ट्रेण्ड सेटर भएर हिड्नुपर्छ । अरुले पनि हामीलाई पछ्याएका छन् । हाम्रो विजनेशलाई भेटउन अरु कम्पनीलाई २ देखि ३ वर्षसम्म लाग्छ ।
तपाईहरुको प्रतिस्पर्धा कम्पनीमा कोसँग छ ?
आजको दिनमा हाम्रो प्रतिस्पर्धा हामीसँगै छ । प्राइसको हिसाबले सबैसँग प्रतिस्पर्धा छ । हामीले अन्तराष्ट्रिय असल अभ्यासहरुलाई नेपाल भित्र्याउने पहल र प्रयास गरिरहेका छौं ।
कस्तो प्रकारको असल अभ्यास भित्र्याउनु भएको छ ?
भूकम्पपछिको बीमा दाबी भुक्तानीमा हामीलाई केही समस्या आउला जस्तो भएको थियो । यो समस्या समाधान गर्न हामीले पुनर्बीमा कम्पनीबाट पेश्की स्वरुप अग्रिम पैसा ल्याउने पहल गर्यौं । यो प्रयासमा हमी सफल पनि भयौं । यसो भन्नुको अर्थ के हो भने नेपाली बीमा कम्पनीहरुले अन्तराष्ट्रिय असल अभ्यासहरु लागू गरेको छ । र, यिनीहरुलाई पेश्की स्वरुप दाबी भुक्तानीको रकम दिदा फरक पर्दैन भन्ने बुझाइ पुनर्बीमा कम्पनीहरुको रह्यो । हामीले बाहिरको अभ्यास नगरेको भए पुर्नबीमा कम्पनीको विश्वास जित्न सक्ने थिएनौं । हामीले नेपालको लागि भनेर ट्रेकिङको लागि प्रोडक्ट ल्यायौं । हाम्रोमा पर्यटनको राम्रो सम्भावना छ । हामीले त्यो प्रोडक्ट ल्यायौं । अर्को कृषि बीमा हो । त्यसमा काम भएको छ ।
अब ठूलो महामारी र प्रकृतिजन्य जोखिम कृषि क्षेत्रमा छ । जस्तो पानी धेरै पर्ने वा नपर्ने । त्यसले किसानको उत्पादन घटाउने काम गर्छ । जोखिम पनि छ । हामीले स्याउबाट यो सुरुवात गरेका छौं । अब धानमा हामी जादैछौं ।
यस्तै स्वास्थ्य बीमा ल्यायौं । खल्तीमा अस्पतालसम्म जान पैसा छैन भने पनि उपचार हुने ब्यवस्था मिलाउन आवश्यक थियो । सरकारले स्वास्थ्य बीमाको योजना ल्याएको छ । यसले पनि बजार बढ्ने छ । सरकारले ५० हजारसम्मको कभर गरेको छ । त्यो भन्दा बढीको कभर बीमा कम्पनीले दिने हो । यसकारण सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमले हामी बीमा कम्पनीहरुलाई पनि फाइदा भएको छ ।
बीमाको बजार बढाउन कम्पनीहरु केही हदसम्मको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ?
यसमा मार्केट ट्रेड सेटर भएको हुँदा हाम्रोपनि हात वा भूमिका होला । कतिपयलाई शिखरले बिजनेश बढाएको छ, हाम्रोमा किन बढ्दैन भन्ने कुराले पनि प्रेसर गरेको होला । यो पासिङ फेज हो । यसलाई सुधार गर्दै जानुपर्छ । काम गर्दा कहिलेकाही गल्ती हुन्छ । यसलाई सुधार गर्दै जाने हो ।
तपाई यतिका वर्षदेखि बीमा क्षेत्रमा हुनुहुन्छ, धेरैलाई यो प्रश्नको जवाफ पनि दिनुभयो होला, के बीमाको चेतना बढेको हो ?
बीमाको चेतना बढेको छ । मैले तपाईहरुलाई सोध्न चाहन्छु । तपाईहरुको घरको बीमा भएको छ । अर्थतन्त्रको आकार बढेपछि बीमा व्यवसाय बढ्छ । जति आम्दानी बढ्छ, त्यो अनुसार बीमा व्यवसाय बढ्छ । हामीले जनताको आय स्तर अनुसार बीमाको प्रोडक्ट ल्याउनुपर्छ ।
नयाँ बीमा कम्पनी आउँदैछन् तपाईहरुको जीवन बीमा कम्पनी आउँदै छ ? सम्भावना कस्तो देख्नुहुन्छ ?
हामी मिलेर काम गर्न सक्छौं । स्वास्थ्य बीमाको क्षेत्रमा यसमा काम गर्न सकिन्छ । १२ वर्षदेखि बीमाको लाइसेन्स दिएको थिएन । उहाँहरुले सबैलाई अनुमति दिनुभयो । निर्जीवन बीमा क्षेत्रमा काम गर्ने अहिले १७ वटा कम्पनी छन् । स्थापनाको दृष्टिकोणले हाम्रो कम्पनी १५ औं हो । र, सिदार्थ १६ औं हो । आजको दिनमा व्यवसायको दृष्टिकोणले हामी पहिलो स्थानमा छौ भने सिदार्थ दोस्रोमा छ । जसले गर्न सक्छ त्यो चल्छ । नयाँ कम्पनी आएपछि रोजगारीको अवसर सिर्जना हुन्छ । आर्थिक क्रियाकलाप बढ्छ । कम्पनी चल्न सकेन भने मर्ज हुन्छन् ।
रिर्टनको दृष्टिकोणले नयाँ बीमा कम्पनीमा जोखिम छैन ?
नयाँ आउन लागेका कम्पनी डुब्ने छैनन् । क्यापिटल बढी छ । त्यो अनुसार नयाँ कम्पनी चल्न सक्छन् । आफ्नो बाटो कम्पनीले आफै खोल्दै जाने हो ।
यसरी संख्या बढ्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दैन ?
अस्वस्थ प्रतिस्पर्धा भनेको कस्तो ? संसारभर यस्तो प्रतिस्पर्धा हुन्छ । बाहिर रेट घटाएर प्रतिस्पर्धा हुन्छ । यहाँ अर्को तरिकाले हुन्छ । त्यो आफ्नो सोचाईको कुरा हो । कम्पनीलाई बिगार्ने तरिकाले गए त्यो अस्वस्थ हो । सही नियतले काम गर्नुपर्यो । कमलको फूल टिप्न हिलोमा जानुपर्छ । प्रतिस्पर्धाको कुरा पनि यस्तै हो ।