ठेकेदारको लापर्वाहीले तीन महिना नपुग्दै पुल भत्कियो



इलाम । इलामको चुलाचुली गाउँपालिका-२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुंगे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो ।

वैशाख अन्तिम सातामात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि उनीहरू आक्रोशित बनेका हुन् । “योभन्दा हद हुने ठाउँ छैन”, स्थानीय बासिन्दा चेतन आंथुपोले भने, “एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि एकैचोटीको बाढीले भत्कियो ।”

सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनुपरेको उनको भनाइ छ ।

नवनिर्मित पुल २०४ मिटर लम्बाइको भएको र झोलुंगे पुल महाशाखा काठमाडौँको ७० लाख रुपैयाँ बजेटमा निर्माण भएको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताए । तीन फिटमात्र गाडिएकाले पुलको पूर्वपट्टिको एउटा पिल्लर भासिएको छ । ठेकेदारलाई पिल्लर गहि¥याएर गाड्नभन्दा तीन फिटभन्दा लैजान नमानेकाले अहिले पुलको यो अवस्था भयो, उनी बताउँछन् ।

उक्त पुल किनार छाडेर खोलाको बीचमा बनाउन लागिएको भन्दै शुरुदेखि नै आलोचना हुँदै आएको थियो । पुल भेट्न पूर्वमा डेढ सय मिटरभन्दा बढी र पश्चिममा एकसय मिटर खोला तरेर जानुपर्छ ।

अध्यक्ष केरुङका अनुसार पुलको सर्भे गरिएको वर्ष खोला बीचबाटै बगेको थियो । तर, गत वर्ष ५०० मिटर उत्तरको बाँध फुटाएर खोलाले धार परिवर्तन गरेको छ । त्यसपछि खोलाको आकार ठूलो भएकाले पुल बीचमा परेको हो ।

“स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बीचमा पुल बनाइयो ?”, पूर्व गाविस अध्यक्ष ओमनारायण खनालले भने ।

पुलको बारेमा आगामी गाउँसभामा छलफल चलाउने अध्यक्ष प्रदीपचन्द्र राईले बताए । चुलाचुली गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल तर्नुपर्छ ।

ती वडाबाट गाउँपालिकाको एकमात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिनाजति विद्यार्थीको पढाइ अवरुद्धसमेत हुँदै आएको थियो । रासस


क्लिकमान्डु