काठमाडौं महानगरभित्र जथाभावी विज्ञापन गरे १ लाख जरिवाना तिर्नुपर्ने



 

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी विज्ञापन गर्नेलाई महानगरले कारबाही स्वरुप १ लाख रुपैयाँ तिराउने भएको छ ।

महानगरपालिकाले वातावरण सफा राख्न र सौन्दर्यीकरण अभियानलाई प्रबद्र्धन गर्दै जथाभावी विज्ञापन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराउने नियम लागू गर्न लागेको हो । महानगरले आफ्नो क्षेत्र भित्र कर नतिरी विज्ञापन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको हो ।

महानगरले फोहर मैला व्यवस्था ऐन अन्तर्गत जथाभावी विज्ञापन गर्नेलाई अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्न लागिएको महानगरका राजश्व विभागका शाखा प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।

‘महानगरले विज्ञापन निषेध गर्न खोजेको हैन, कर नतिरी विज्ञापन गर्नेलाई करको दायरामा ल्याउन खोजेको हो,’ काफ्लेले क्लिमाण्डूसँग भने ।

महानगरले तोकेको स्थानमा निश्चित शुल्क तिरेर विज्ञापन गर्न पाइने छ । महानगर विज्ञापन नीति २०७० अनुसार पूर्व स्वीकृति लिई कर दाखिलागरी विज्ञापन गर्न पाइने उनले जानकारी दिए ।

यसअघि महानगले जथाभावी विज्ञापन गर्ने कम्पनी, संस्था, व्यक्तिलगायतलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको थियो ।

२०७२ भदौ १६ गते काठमाडौं महानगरपालिकालगायत ९ वटा कार्यालयलाई जथाभावी विज्ञापनका कारण वातावरण र दृश्य प्रदुषण भएको भन्दै सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेको थियो । जथाभावी गरिने विज्ञापनले शहर कुरुप देखिनुका साथै राजश्व पनि उठने गरेको छैन ।

महानगरले हाल जथाभावी विज्ञापन गर्ने कम्पनी, संस्था, व्यक्तिलगायतलाई चिठी पठाएर विज्ञापन हटाउन निर्देशन दिएको प्रमुख काफ्ले बताउँछन् ।

‘केहि संस्थाहरुले स्वत रुपमा विज्ञापन हटाउने काम गरिरहेका छन्, महानगरको अनुरोधको अवज्ञा गर्नेको हामी आफैँ हटाउँछौ र आवश्यक जरिवाना गर्नेछौं,’ उनले भने ।

महानगर भित्र विज्ञापन गर्ने कम्पनीहरुले सस्तो र अनाधिकृत रुपमा विज्ञापन गर्न सजिलो हुने भएकाले फ्लेक्सको प्रयोग गर्ने गरेको देखिएको छ । जसले गर्दा शहर कुरुप बन्दै गएको उनको तर्क छ ।

‘फ्लेक्सको ठाउँमा एलइडि बोर्डको प्रयोग गर्दा शहरको सुन्दरता बढनुका साथै करको दायरामा ल्याउन सजिलो हुन्छ, त्यसैले फ्लेक्समा गरिने विज्ञापनको रेट पनि बढाएका छौं साथै अनाधिकृत फ्लेक्सलाई हटाउने काम तीब्र गतिमा भइरहेको छ,’ उनले भने ।

काफ्लेका अनुसार २०७४ सालको अन्त्यसम्ममा महानगर भित्र जथाभावी गरिने विज्ञापन देखिने छैन् ।


क्लिकमान्डु