महालक्ष्मी र यती विकास बैंकको एकिकृत कारोबार आजबाट, चुक्तापुँजी पुर्याउने पहिलो विकास बैंक



काठमाडौं । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर आजबाट एकिकृत कारोबार सुरु गरेका छन् ।

दुबै विकास बैंक गाभिए पश्चात राष्ट्र बैंकले तोकेको राष्ट्रिय स्तरको विकास बैंकको लागी चाहिने चुक्त पुँजी २ अर्ब ५० करोड पुरा भएको छ । दुई संस्थाको मर्जर पछि चुक्ता पुँजी २ अर्ब ६३ करोड भएको छ ।

मर्जर पछिको संस्थाको नाम महालक्ष्मी विकास बैंक रहने छ भने दुबै संस्थाको जोड्दा निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड छ ।

शाखा सञ्जाल ६५ पुगेको छ भने, ग्राहक संख्या ३ लाख ६४ हजार ३ सय ५९ पुगेको छ ।

दुबैं संस्थाको चैत मसान्तसम्मको खुदनाफा ६७ करोड ७४ लाख भएको छ । मर्जरमा स्वाप रेसियो एक बराबर (१:१) कायम गरिएको छ ।

बैंकको ६ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । जसमा अध्यक्ष राजेश उपाध्याय छनोट भएका छन् भने संचालक समिति सदस्यमा अरुणराज सुमार्गी, संजय गिरि, बिरेन्द्र कुमार संघाई, राजेश कुमार रौनियार र रुपेन्द्र पौडेल छन् ।

हिजै बसेको संचालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाइ नियुक्त गरेको छ ।


क्लिकमान्डु