मर्जरको पार्टनर खोज्दै यसरी भौतारिएको थियो कुमारी बैंक



काठमाडौं । राष्ट्र बैंकले दुई वर्ष अगाडि वाणिज्य बैंकको चुक्ता पुँजी पुर्याउदा कुमारीको पुँजी २ अर्बमात्र कटेको थियो ।

संचालकहरुबीच हुने विवादको कारण बैंक चर्चामा आइरहेको हुन्थ्यो । भिन्नभिन्न पृष्ठभूमिका लगानीकर्ताको कारण बैंकमा विवादपनि थियो । राष्ट्र बैंकले पुँजी बढाउने नीति लिएपछि कुमारीको सिदार्थ बैंकसँग मर्जरमा जाने हल्लापनि चल्यो । केही चरण कुरा भएपनि टुंगो लागेन ।

राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) व्यवस्थापन नियन्त्रणमा लिएको थियो । एनसीसीमा चारवटा विकास बैंक सहित कुमारी मर्जरमा जाने सम्झौता भयो । यसरी मर्ज हुँदा बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने थियो ।

कुमारीको साधारणसभाले एनसीसीसँग मर्जरमा जाने प्रस्ताव अस्विकृत गर्यो । एनसीसीले आफुमा गाभेको एपेक्सको लफडाले अहिलेपनि टाउको दुखाईको विषय भएको छ ।

एनसीसीसँग मर्जर सम्झौता तोडेपछि देशभरका बैंक तथा वित्तीय वित्तीय संस्थासँग मर्जरको कुराकानी गरेको मर्जर समितिका संयोजक डा शोभाकान्त ढकालले बताए ।

‘एनसीसीसँग मर्जर सम्झौता तोडेपछि मेगासँगपनि कुरा भयो,’ उनले मर्जरको अनुभव सुनाउँदै भने, ‘ हामी २० वर्ष पुरानो र मेगा नयाँ मर्जरमा जाने कुरा भएपनि सम्भव भएन।’

उनले मर्जरको लागि पोखरादेखि विरन्गन्ज तथा पूर्वका धेरैवटा विकास बैंक र फाइनान्स कम्पनीसँग कुरागरेपनि अन्तिममा काष्ठमण्डप, महाकाली, काँक्रेविहार र पश्चिमाञ्चल फाइनान्स गाभियो । सबैसँग सहमति भएपछि मर्जर प्रक्रिया सहज ढंगले टुंगियो ।

उनले राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गर्न दवाव आएपछि सुरेन्द्र भण्डारीलाई सिइओ नियुक्त गरिएको बताए ।

‘संचालक तर्फबाट गर्नुपर्ने काम सकिएको छ,’ उनले थपे, ‘ हामीलाई रिर्टन चाहिन्छ त्यो काम व्यवस्थापनले गर्नुपर्छ।’

चारवटा संस्था गाभेपछि कुमारीले २० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । २० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी ८ अर्ब पुर्याउन ५९ करोड पुग्दैन । जुन चालु आर्थिक वर्षको बोनसबाट पुग्छ ।


क्लिकमान्डु