तीन करोड रुपैयाँको लागतमा मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म



काठमाडौँ । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ ।

मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि व्यवस्था गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका च्याङ्ग्रा ल्याइने सो फारम स्थापना गर्न एक हजार रोपनी जग्गाको प्रबन्ध भइसकेको छ ।

उक्त स्थानमा च्याङ्ग्रा पालनका लागि घाँसखेती तथा बस्नका लागि टहरा व्यवस्थित गरेपछि दक्ष जनशक्तिको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार राम्रो पश्मिना उत्पादनका लागि च्याङ्ग्राको छनोट तथा राम्रो उत्पादन गर्न नसक्ने ठिमाहा खालका च्याङ्ग्रा मासुका लागि प्रयोग गर्नका लागि वर्गीकरण गरिने छ ।

आगामी आवभित्र सम्पन्न गरिने उक्त आयोजनाको प्रारम्भिक अध्ययन तथा स्थानीय सरोकारवालासँग छलफल सम्पन्न भइसकेको छ । स्थानीयवासी सो आयोजना चाँडो पूरा गर्नका लागि मन्त्रालयलाई सहयोग गर्न सकारात्मक रहेको प्रवक्ता पौडेलले बताए।

करिब तीन करोड रुपैयाँको लागतमा तयार हुने अनुमान गरिएको आयोजनाका लागि यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरी प्रारम्भिक कार्यका लागि केही खर्च समेत गरिएको छ ।


क्लिकमान्डु