कृषि आधुनिकीकरणका लागि ट्याक्टर



झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ ।

परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए।

उनका अनुसार मेसिनरी औजारको प्रयोग गरेर कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यले ती कृषि सहकारी संस्थालाई उक्त ट्याक्टर प्रदान गरिएको हो । कृषि सहकारी संस्थाले सहुलियत दरमा किसानलाई सेवा प्रदान गर्नेछन् ।

सुपर सञ्चालक समिति संयोजक नवराज भट्टराईका अनुसार साना किसान कृषि सहकारी संस्था पथरिया, नौलो भविष्य साना किसान कृषि सहकारी बालुबाडी र अमरावती कृषि सहकारी पथरियालाई दुई/दुई थान, साना किसान कृषि सहकारी संस्था बालुबाडी, आइपीएम कृषि सहकारी तोपगाछी र जामुनखाडी कृषि सहकारी संस्था कनकाईलाई एक/एक थान ट्याक्टर प्रदान गरिएको हो ।

कृषि सहकारीको ५० प्रतिशत र सरकारको ५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर खरिद गरी वितरण गरिएको हो । धान सुपरजोनमा कृषि औजार खरिदका लागि सरकारले रु दुई करोड अनुदान उपलब्ध गराएको छ । किसानको मागका आधारमा कृषि औजार खरीदमा ५० प्रतिशत लागत सहभागिता गराई अनुदान उपलब्ध गराइने अधिकृत तिमल्सेनाले बताए ।


क्लिकमान्डु