झापामा फस्टाउँदै मकैखेती



झापा। झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ ।

मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा ३२ हजार ७०० हेक्टर जग्गामा गरिएको मकैखेती अहिले ३७ हजार ९०० हेक्टरमा लगाइएको जिल्ला कृषि विकास कार्यालयका  सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिए ।

राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्क अनुसार मकै उत्पादनका लागि झापा मुलुककै अग्रणी जिल्ला हो । यहाँ अरुण, रामपुर कम्पोजिटलगायत मकैको खेती गरिँदै आएको छ । पछिल्लो समय विभिन्न उन्नत जातका मकैको खेती हुन थालेसँगै उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख प्रकाशकुमार डाँगीले बताए ।

“मकैखेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ,” उनले भने। जिल्लामा प्रतिहेक्टर छ टनदेखि सात टनसम्म मकै उत्पादन हुन्छ । विसं २०६८ अघिसम्म करिब २८ हजार हेक्टरमा मात्र मकैखेती गरिँदै आएको थियो ।

गत वर्ष ३७ हजार ६०० हेक्टरमा एक लाख ६९ हजार ५७६ मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष ३७ हजार ९०० हेक्टरमा एक लाख ७० हजार ९०० मेट्रिक टन मकै उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा मकैको बजार मूल्य प्रतिक्विन्टल दुई हजार २०० रुपैयाँ देखि दुई हजार ३०० रुपैयाँ सम्म रहेको छ ।


क्लिकमान्डु