चार महिनादेखि घर-जग्गा कर्जा ठप्प



काठमाडौं । केही महिनायता बैंकहरुले घरजग्गा (हाउजिङ तथा रियलस्टेट) मा नयाँ कर्जा दिन बन्द गरेका छन् ।

बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) को चरम अभावका कारण बैंकहरुले घरजग्गामा नयाँ कर्जा दिन छाडेका हुन् ।

पछिल्लो चार महिनामा बैंकहरुले घरजग्गा कर्जा ठप्प पारेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ०७४ बैशाख मसान्तसम्ममा बैंकहरुले घरजग्गामा २ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

बैंकहरुले घरजग्गामा लगानी ठप्प पारेसँगै घरजग्गाको व्यवासय पनि ठप्पजस्तै छ । तर, आवासीय प्रयोजनका घरहरुको कारोबार भने भइरहेकै छ ।

तीन महिना अघि अर्थात् ०७३ माघ मसान्तसम्ममा बैंकहरुले घरजग्गामा २ खर्ब ९१ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

माघदेखि बैशाखसम्ममा घरजग्गामा जम्मा २ अर्ब २० करोड रुपैयाँले मात्रै कर्जा बढेको छ ।

त्यस्तै, ०७३ फागुन र चैत मसान्तमा बैंकहरुले २ खर्ब ९२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको तथ्यांअनुसार गत चैत महिनामा घरजग्गमामा एक रुपैयाँ पनि थप कर्जा बिस्ता भएन ।

विगत ४/५ महिनायता घरजग्गामा विस्तार भएको ९० प्रतिशत बढी कर्जा पुरानो प्रतिबद्धता अनुसारको अर्थात् पहिले नै एप्रुभ भइसकेको बैंकहरुहरु बताउँछन् ।

पछिल्ला महिनामा एसएमइ बाहेक अन्य क्षेत्रमा बैंकहरुले नयाँ आयोजनामा लगानी गर्न छाडेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाले बताए ।

‘अहिले बैंकहरुलाई पुरानो प्रतिवद्धता अनुसारको ऋण दिनै हम्मेहम्मे छ,’ सीइओ राणाले क्लिकमाण्डूसँग भने,- ‘नयाँ कर्जा विस्तार गर्ने त कुरै छोडौं ।’

आफ्नो बैंकमा मात्रै करिब १ सयभन्दा बढी नयाँ कर्जाका फाइलहरु पेन्डिङ भएको उनले बताए ।

‘करिब ४/५ अर्ब रुपैयाँ बराबरको नयाँ कर्जाको माग गर्दै बैंकमा आएको प्रस्ताब पेन्डिङ छ,’ राणाले भने ।

तरलता अभावका कारण बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा मुलुकको अर्थतन्त्र गतिबिहिन बन्दैछ ।

साउनदेखि बैशाखसम्मको १० महिनामा भने बैंकहरुले घरजग्गामा ४२ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

१० महिनाको अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये पछिल्ला ३ महिनामा जम्मा ५.१५ प्रतिशत मात्रै कर्जा बढेको हो ।

साउनदेखि माघ मसान्तसम्म भने घरजग्गा कर्जा सन्तोषजनक रुपमै बढेको छ ।

साउनमा २ खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको घरजग्गा कर्जा भदौमा २ खर्ब ६० अर्ब कात्तिमा २ खर्ब ७० अर्ब ४० करोड, मंसिरमा २ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, पुस मसान्तमा २ खर्ब ८६ अर्ब ३० करोड र माघ मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ५० करोड रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी भएको थियो । माघयता भने घरजग्गा क्षेमा लगानी बिस्तार हुन नसकेको हो ।

जेठ महिनामा पनि चैत बैशाखको जस्तै अवस्था रहेको राणाले जानकारी दिए ।

बैंकहरुले घरजग्गामा लगानी ठप्प पारेसँगै घरजग्गाको व्यवासय पनि ठप्पजस्तै छ । तर, आवासीय प्रयोजनका घरहरुको कारोबार भने भइरहेकै छ ।


क्लिकमान्डु