१९ करोड लागतमा जनता आवास कार्यक्रम अन्तर्गत ६०० घर निर्माण हुँदै




मोरङ । जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनी रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि ती समुदायका व्यक्ति अहिले खुसीले गदगद भएका छन् ।

मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि निकै खुसीभएका छन् ।

डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका मानिस सबै खुसी छन् ।
उनिहरु भन्छन्,– “हामी गरिब छौँ तर सरकारले घर बनाउन पैसा दिन थालेपछि राम्रो भयो” ।

अहिले मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहा ५०, सौराभाग ५० , हात्तीमुडा ५०, डग्राहा ७५ लगायतका स्थानमा घर निर्माण भइरहेकाले लक्षित समुदाय निक्कै खुसी भएका हुन्। डङ्ग्राहाका मुखानीदेवी सरदारले भनिन्, “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।”

मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेको छ । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यलको संयोजकत्वमा १३ सदस्य कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ । समितिका सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख छन् ।

सांसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने स्थानियवासी मौना बाँतर बताउँछिन् ।

कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा १८ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्ने छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय मोरङका प्रमुख श्याम किशोर सिंहले जनता आवसको काम द्रूतगतिमा भइरहेको बताए ।


क्लिकमान्डु