मेलम्चीमा स्थानीयवासीको चिन्ता, खोला थुनिएर गाँउ नै बगाउँने हो कि ?



मेलम्ची । मेलम्ची खानेपनी आयोजनाले सुरुङ खनेर निस्किएको माटो जथाभाबी खोलामा फाल्दा खोला थुनिएर गाँउनै बगाउने हो कि भन्ने त्रास स्थानीय बासीमा पैदा भएको छ ।

सुरुङ निर्माणको काम छिटोे सक्ने बहानामा ठेकेदार कम्पनी सिएमसीले अव्यवस्थित रुपमा खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुङ्गाको पहाड बनाएको छ । यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्नेछ ।
आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको स्थानीयवासी निमा लामा शेर्पा बताउनुहुन्छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ ।

आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ ।

सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको उचित व्यवस्थापनको विषयमा स्थानीयस्तरबाट पनि आवाज उठेका छन् तर हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा नवनिर्वाचित मिङमार लामासहितको टोलीलाई आयोजनाले सुङङभित्र जान दिएको थिएन ।

वडाध्यक्ष लामा भन्छन्, ‘स्थानीयवासीलाई आयोजनाका कारण उत्पन्न त्रास हटाउन ठेकेदार पक्ष गम्भीर हुनुपर्छ । त्यसका लागि सबै लाग्न आवश्यक छ ।’


क्लिकमान्डु