यी हुन्, दूरसंचार प्राधिकरणका नयाँ नियुक्त भएका सदस्यहरु



काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको रिक्त २ जना सदस्यमा नयाँ नियुक्ति गरेको छ ।

सूचना तथा संचार मन्त्रालयले गरेको सिफारिसको आधारमा सरकारले प्राधिकरणमा दुई नयाँ सदस्य नियुक्त गरेको हो ।

प्राधिकरणका नयाँ सदस्यमा प्राविधिक समूहतर्फ चुडामणी चौलागाईँलाई नियुक्त गरिएको छ भने लेखा तथा लेखापरीक्षण समूहतर्फ टेकनाथ आचार्यलाई नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव किशोर जंग कार्कीले नियुक्त भएको अनौपचारिकरुपमा सुनेको तर चिठी नआईसकेको जानकारी दिए ।

‘मैले पनि नियुक्ति भएको सुनेँ तर अझैसम्म औपचारिक चिठी आएको छैन्, तपाईँले भनेको नामहरु नै नियुक्त भएको थाहा पाएँ,’ उनले क्लिकमाण्डुसँग भने ।

उनले करिब २ साताअगाडि नयाँ सदस्य नियुक्तिको लागि मन्त्रिपरिषदमा सिफारिस पठाएको जानकारी दिए । ‘हामीले केहि नाम सिफारिस गरेको थियौं तर अहिले सबै नाम याद छैन्,’ उनले भने ।

चौलागाईँ यसअघि नेपाल स्याटेलाईटमा प्रमुखको रुपमा काम गरिसकेका व्यक्ति हुन भने आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन् ।

मन्त्रालयले यसको लागि मन्त्रिपरिषदमा ३/३ जनाको नाम प्रस्ताव गरेर पठाएको थियो । दुबै समूहका उम्मेदवारहरुले आफ्नो व्यवसायिक कार्ययोजना प्रस्तुति गरेपछि मन्त्रालयले गरेको सर्टलिस्टको आधारमा मन्त्रिपरिषदले नयाँ सदस्य प्राधिकरणमा नियुक्त गरेको हो ।

यसअघि मन्त्रालयले नयाँ सदस्य नियुक्त गर्ने प्रकृया गरिरहेको बेलामा निर्वाचन आयोगले आचार संहिता देखाउँदै रोकेको थियो । तर पछि आयोगले प्रकृया सुचारु गर्न पत्र दिएको थियो ।

सरकारले नयाँ सदस्यहरुका लागि माग गरेको आवेदनमा प्राविधिक तर्फको सदस्यका लागि १२ जना र लेखा तथा लेखापरीक्षण समूहतर्फ ७ जनाको आवेदन परेको थियो ।

प्राधिकरणको नयाँ सदस्य बन्न आवेदन दिनेमा प्राविधिक तर्फ ई.अनन्तराज घिमिरे, उज्वल भक्त प्रधानाङ्ग, केशवराज ज्ञवाली, चुडामणी चौंलागाई, चेतन रत्न कंसाकार, मधुसुधन कर्माचार्य, मनिस कुमार सुब्बा, रेग बहादुर भण्डारी, विश्वनाथ गोयल, शिवभुषण लाल, डा. सुरेन्द्र श्रेष्ठ तथा सुवास बज्राचार्य थिए ।

त्यसैगरि लेखा तथा लेखापरीक्षण समूहतर्फ जनक कुमार बराल, टेकनाथ आचार्य, बिजयरत्न स्थापित, भिम बहादुर चन्द, राजेन्द्र प्रसाद तिम्सिना, सुनिल जाकीबन्जा र डा. हेमराज भण्डारीले आवेदन दिएका थिए ।

दूरसंचार प्राधिकरणका सदस्य हुनका लागि सम्बन्धित क्षेत्रमा ७ वर्ष अनुभव तोकिएको थियो ।


क्लिकमान्डु