मुलुकको ९० प्रतिशत भागमा मोबाइल सेवा, ३ करोड २८ लाख प्रयोगकर्ता



काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मोबाइल सेवा प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुँदै साढे तीन करोडको हाराहारीमा पुगेको छ ।

हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्यामा वृद्धि हुँदै ३ करोड २८ लाख २६ हजार ३ सय ८९ पुगेको छ । गत आर्थिक वर्षमा यो संख्या करिब ३ करोडको हाराहारीमा रहेको थियो ।

टेलिफोन घनत्वमा पनि वृद्धि हुँदै चालु आवमा १३०.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष टेलिफोन घनत्व ११८.७५ प्रतिशत रहेको थियो ।

सर्वेक्षणअनुसार देशभर कुल टेलिफोन संख्या ३ करोड ४५ लाख ३४ हजार २ सय ८० रहेको छ । जसमध्ये मोबाइल सेवाको संख्या सबैभन्दा उच्च रहेको छ भने जिएमपिसिएस प्रविधिबाट दूरसंचार सेवा प्रयोग गर्नेको संख्या सबैभन्दा न्यून १ हजार ७ सय ४२ रहेको छ । त्यसैगरि पिएसटिएन सेवा संख्या चालु आवमा ८ लाख ६० हजार ५ सय ८३ रहेको छ । उता लिमिटेड मोबिलिटिको संख्या ८ लाख ४५ हजार ५ सय ६६ रहेको छ । पछिल्लो दुई वर्षमा जिएमपिसिएस तथा लिमिटेड मोबिलिटि प्रयोगकर्ताको संख्यामा कुनै परिवर्तन भएको देखिँदैन् ।

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकको आधारमा हेर्दा हाल ७५ वटै जिल्लामा मोबाइल सुविधा पुगेको छ भने नेपालको ९० प्रतिशत भूभागमा मोबाइल सेवाको पहुँच छ ।

तथ्यांकअनुसार इन्टरनेट प्रयोगकर्ताको संख्यामा पनि वृद्धि हुँदै १ करोड ५३ लाख ८८ हजार ७ सय ६० ग्राहक पुगेको छ । अघिल्लो आवमा यो संख्या १ करोड ३७ लाख ८४ हजार ६ सय १८ रहेको थियो । हाल इन्टरनेटको घनत्व ५८.०८ प्रतिशत रहेको छ । हालसम्म ७२ जिल्लामा ब्रोडब्याण्ड सेवा पुगिसकेको उल्लेख छ ।

विवरणअनुसार सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरु जिपिआरएरमा छन् । मोबाइलमा आधारित जिपिआरएस चलाउनेहरु १ करोड ४७ लाख ८८ हजार ३ सय ३५ रहेका छन भने त्यसपछिको संख्या सिडिएमए इभिडियो प्रयोगकर्ताहरु छन, जसको संख्या १ लाख ९९ हजार ७ सय ७२ रहेको छ ।

आठ महिनाको विबरणअनुसार डायलअपमा आधारित इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या भने निरन्तर घट्दो क्रममा छ । अघिल्लो वर्षमा ८ हजारको हाराहारीमा रहेका डायलअप प्रयोगकर्ता यो वर्ष घटेर ५ हजार १ सय ४६ मा पुगेको छ ।


क्लिकमान्डु