महाअभियोग राम्रो होइनः बार अध्यक्ष केसी



काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानन्यायधीशमाथिको महाअभियोग राम्रो नभएको प्रतिक्रिया दिएका छन् । कसको दोष के हो भन्ने भन्दा पनि न्यायपालिकाका प्रमुखमाथिको महाअभियोगले स्वतन्त्र न्यायपालिकामा असर पुग्ने उनले बताए ।

‘नेपालको इतिहासमै प्रधानन्यायधीशमाथिको महाअभियोग यो पहिलो हो, न्यायपालिका प्रमुखमाथिको महाअभियोग राम्रो होइन, दोष कसको छ, के छ भन्ने दोस्रो कुरा हो, स्वतन्त्र न्यायपालिकाको हिसाबले यो राम्रो हुदैहोइन,’ अध्यक्ष केसीले क्लिकमाण्डूसँग टेलिफोनमा कुरा गर्दै भने ।

प्रधानन्यायधीश कार्की विरुद्ध महाअभियोग दर्ता भएको कुरा आफूले संचारमाध्यमबाट थाहा पाएको र विस्तृत जानकारी अझै पाउन नसकेको उनले बताए । बारका पदाधिकारीसँग सल्लाह गरेर थप प्रतिक्रिया सार्बजनिक गरिने उनको भनाइ छ ।

‘मैले पनि संचारमाध्यमबाट महाअभियोग बारे जानकारी पाएको हूँ, अरु साथीहरुसँग कुरा गर्न पाएको छैन, यसबारेमा मैले अहिलेसम्म कुनै पनि संचारमाध्यमलाई प्रतिक्रिया दिएको पनि छैन, कुरा नबग्याइ लेखिदिनु होला, स्वतन्त्र न्यायपालिकाको हिसाबले यो राम्रो होइन, मेरो कुरा यत्ति लेखिदिनु होला,’ उनले भने ।

सत्ता साझेदार नेपाली काँग्रेस र माओबादी केन्द्रको प्रस्ताबमा प्रधानन्यायधीश सुशीला कार्कीमाथि आजै महाअभियोग दर्ता भएको छ । बार अध्यक्ष केसी नेपाली काँग्रेस निकट कानुन ब्यवसायी हुन् ।


क्लिकमान्डु