उनन्चालिस किलो चरेससहित दुई महिला पक्राउ



पाल्पा । पाल्पामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि आज जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ५७३१ नंको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालिका– ४ जिल्ला अस्पतालको चोकमा जाँचका क्रममा ३९ किलो चरेस बरामद गरेको हो ।

पाल्पा प्रहरीले चरेस बोकी ल्याउने बाँके कोहलपुर नपा– १३ की ३९ वर्षीया मनकुमारी चलाउने र साविकको उवा गाविस– ६ रोल्पाकी ३४ वर्षीया राजीपुरा रोकामगरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए ।

प्रहरीको विशेष सुराकीका आधारमा बसमा जाँच गर्दा राजीपुरा रोकाको दुई वटा झोलाबाट २३ किलो र मनकुमारीको झोलाबाट १६ किलो चरेस बरामद गरिएको प्रहरी उपरीक्षक वाग्लेले बताए । विगत सात दिनदेखि पाल्पा प्रहरीले अनुसन्धान गर्दै आएको थियो । रासस


क्लिकमान्डु