निर्वाचन आयोग अब पर्खने अवस्थामा छैन : प्रमुख आयुक्त यादव



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथ आयोग अघि बढिसकेकाले अब पर्खने अवस्था नरहेको बताएका छन् ।

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै जिल्लाको मतपत्र, मतदाता नामावलीको छपाइ अघि बढिसकेको र यही चैत २८ देखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिमसमेत सुरु हुन लागेकाले पर्खने अवस्था नरहेको जानकारी दिए ।

‘अब हामी अगाडि बढिसक्यौँ, मतपत्र छपाइका लागि शनिबार ७५ वटै जिल्लाको पठाइसकेका छौँ । आयोगका आयुक्तहरु चैत २८ गतेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको प्रशिक्षण लागि खटिनुभएको छ, दुई तीन दिनको समय सकिएको छ, सबै काम दु्रत गतिमा भइराखेकाले त्यो समय अब केही हुँदैन’  उनले भने ।

मधेसका कतिपय जिल्लामा देखिएको समस्यालाई सम्बोधन गर्न सरकारलाई दिएको समयसीमा सकिएपछि आयोगले निर्वाचनको तयारीलाई तीव्र तुल्याएको हो ।

मधेसका समस्याका बारेमा ठोस निर्णयमा पुग्न समय दिँदै मधेसका जिल्लाको मतपत्र छपाइको कामलाई आयोगले केही दिन पर्खेको थियो ।

स्थानीय तहको निर्वाचनको सुरक्षाका सम्बन्धमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीसँग आज जानकारी लिएको जानकारी दिँदै प्रमुख आयुक्त डा यादवले गृह मन्त्रालयको सुरक्षा कार्ययोजनाबाट आयोग सन्तुष्ट रहेको बताए ।

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा दिन सरकार तयार रहेको र निर्वाचनको वातावरण पनि अनुकूल हुँदै गई मधेस केन्द्रित दल पनि निर्वाचनमा सहभागी हुने शुभसंकेत देखिएको उनले जानकारी दिए ।

बारा र पर्साको मतदान केन्द्रको सूची प्राप्त भइसकेको र बाँकी मधेसका छ जिल्लाको मतदान केन्द्र निर्धारण गरी यथाशीघ्र पठाउन निर्देशन भइसकेको उनले जानकारी दिए ।

आयोगअन्तर्गतको उच्चस्तरीय सुरक्षा समितिको संयोजक तथा आयुक्त सुधीरकुमार शाहले आयोगले सुरक्षाका विषयमा छलफल भएको र २ नं प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको हुँदा मुलुकभर एकै चरणमा निर्वाचन हुने स्पष्ट पारे ।

‘‘सुरक्षा व्यवस्थाको बारेमा गृहमन्त्रालयका सचिवसँग घनिभूत छलफल भयो, शान्ति सुरक्षाको अवस्था नियन्त्रणभित्रै छ, एकै चरणमा निर्वाचन हुन्छ,’’ उनले भने ।


क्लिकमान्डु