हिमालयन बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौं । हिमालयन बैंकको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन हो । हिमालयन बैंकले १ लाख ४५ हजार ५ सय ६० कित्ता सेयर लिलामी गर्न लागेको हो ।
लिलामी सकार्न चाहनेले आज कार्यालय समय भित्र आवेदन दिनुपर्ने छ ।

बैंकले जारी गरेको ७ः१ अनुपात हकप्रदमा नबिकेको सेयर लिलामी गर्न लागेको हो । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो ।

लिलामी सकार्नका लागि लक्ष्मी क्यापिटल नयाँबानेश्वर पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैंयाँ रहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब २ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ १५ पैसा छ ।
बैंकको अन्तिम कारोबार मुल्य ९ सय ५७ रुपैंयाँ छ ।