तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा जोडिँदै
तेह्रथुम। चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी १० रुपैयाँ त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो ।
त्यति टाढाको बाटो बोकाएर लगेपछि हात परेको दाममा चित्त बुझाउनुबाहेक विकल्प हुन्थेन किसानलाई । उनीहरुले भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर हतारमा घर फर्कनुको विकल्प पनि थिएन । बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन । कति कृषि उपज त माटोमा त्यत्तिकै फल्थे, त्यहीँ मिल्थे ।
पूर्वी पहाडका दुर्गम भेगका तिनै किसान अचेल अलैँची बेच्न दिनभर हिँडेर बजार झरेका कुरा कथाजस्तै सुनाउँछन् । उनीहरु भन्छन्, ‘अहिले त हामी व्यावसायिक तरकारी, फलफूल खेती र अकबरे पनि लगाउन थालेका छौँ । बजारको कुनै सुर्ता छैन । किन्ने घरै आउँछन् । नआए बिहान गयो, बेच्यो, साँझ घर फिर्यो ।’
पूर्वी पहाडका गाउँमा भइरहेको परिवर्तनको कारण हो यहाँको सडक सञ्जाल र त्यससँगै जोडिएर आएको मध्यपहाडी लोकमार्ग जसले उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग क्रमशः जोडिरहेको छ । ‘पहिले यही अलैँची बेच्न पाइएला कि नपाइएला रु भन्ने चिन्ताले निन्द्रा लाग्थेन, अहिले त अदुवा र अम्लिसो पनि लगाएको छुँ, तै पनि मज्जाले सुत्छु,’ इवाका कृषक राम पौडेल भन्छन्, ‘नाम्लो लाउनु पर्दैन, गाडी गाउँमै आउँछ ।’
छातेढुङ्गाका अर्का किसान चन्द्र तिवारीको उत्साह त यतिसम्म बढेको छ कि उनले यसपालि एक सय ५० वटा स्याउ पनि रोप्न भ्याए, आफ्नो उही खेतमा, जहाँ कुनै बेला गहुँ र मकै रोप्नुको विकल्प उनीसँग थिएन । ‘व्यापारी गाडी चढेर घरघरै सामान किन्न आइरहेका छन्, त्यही देखेर यसपालि स्याउ लगाएको छु, कस्तो फल्दोरैछ, हेरुँ,’ उनले भने ।
यही रहस्य बुझेका पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा धमाधम जोडिँदै छन् । यहाँ बर्सेनि सडक सञ्जाल तीव्ररुपमा फैलिँदो छ । पहाडै–पहाड पूर्वदेखि पश्चिमसँग नाता गाँस्ने राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गले पनि यिनीहरुलाई बजारसम्म जोडेको छ ।
पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब एक हजार सात सय किलोमिटर लामो लोकमार्गले तेह्रथुमका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ ।
जिल्लामा मध्यपहाडी लोकमार्गलाई केन्द्र मानेर पनि स्थानीयस्तरमा विभिन्न गाउँ जोड्ने कृषि सडक निर्माण गरिएका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ३३ वटा सडक निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । कालोपत्रे सडकले सदरमुकाम र केही गाविसलाई मात्र छोएको भए पनि जिल्लाका सबै गाउँलाई कच्ची सडकले जोडिसकेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताउँछन् । उनका अनुसार कतिपय गाविसमा टोल–टोलसम्म समेत सडक पुगेको छ ।
विशेषगरी सडक सञ्जालमा पछि मात्र जोडिएका खोरुङ्गा खोलापारिका बासिन्दालाई सडक निर्माणले निकै खुसी तुल्याएको छ । यस भेगका ओयाक्जुङ, जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङ, सक्रान्तिबजार, इवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र छथर क्षेत्रका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, आङ्दिम, हमरजुङलगायत गाउँमा सडकले विकासको बाटोमा जनतालाई डोर्याइरहेको छ । यीमध्ये छथरबाहेकका गाउँलार्इ मध्यपहाडी लोकमार्गले पनि छोएको छ ।
सदरमुकामदेखि दुई दिनसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको आठराई क्षेत्रका बासिन्दा अब सडकसँग जोडिएपछि सदरमुकाम पनि नजिकिएको छ । निर्माणाधीन ग्रामीण सडकमै पनि सवारी सञ्चालन हुन थालेपछि आजभोलि आठराईबाटै पनि एकै दिनमा सदरमुकाम आएर काम सकेर भोलिपल्ट फर्कन सजिलो भएको नागरिक समाजका अध्यक्ष अनिरुद्र तिम्सिना बताउँछन् ।
पाँचथरको फिदिमका एक होटल व्यवसायी भन्छन् ‘किनमेल गर्न आउनेको भीड लाग्थ्यो । होटलमा खाना खाने र बास बस्ने खचाखच हुन्थे,’ उनले थपे ‘सरकारी वा अरू सानातिना काम लिएर आउने पनि बिहान आएर बेलुकी फर्कन्छन् । सडक खुलेपछि पाँचथरको फिदिमका धेरै होटल विस्थापित पनि भएका छन् ।’