मेलम्चीले जनतालाई सेयर बेचेर एडिबीको ऋण तिर्ने




काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सर्बसाधारणलाई सेयर बिक्री गरेर आयोजना निर्माणको लागि एशियाली विकास बैंक (एडिबी) बाट लिइएको ऋण तिर्ने योजना बनाएको छ ।

आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नाफा कमाउन थालेपछि सर्बसाधारणलाई सेयर बिक्री गर्ने गृहकार्य थालिएको आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

जनताले प्रतिकित्ता १०० रुपैयाँमै यो कम्पनीको सेयर पाउँछन् । ५१ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर निजी क्षेत्र तथा सर्बसाधारणलाई बिक्री गर्ने हो,’ भट्टराईले भने ।

‘आयोजना निर्माणको लागि एडिबीबाट लिइएको ऋण सर्बसाधारणलाई यसको सेयर बिक्री गरेर तिर्ने योजना बनाएका छौं, यसले बिदेशी ऋण तिर्न सहज हुने र आयोजनामा सर्बसाधारणको सहभागिता हुने सहजता प्रदान गर्छ,’ कार्यकारी निर्देशक भट्टराईले क्लिकमाण्डूसँग भने ।

आगामी असोज मसान्तभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण गरिसक्ने योजना बनाइएको छ । मेलम्चीबाट दैनिक करिब १७ करोड लिटर पानी काठमाडौं आउने छ । यस्तै मेलम्चीसँगै रहेका याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौं ल्याउने योजना मेलम्ची आयोजनाको छ । यी दुबै खोलाको पानी थपिदा दैनिक थप ३४ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।

सरकारले करिब ४५ बर्ष अगाडि मेलम्चीको पानी काठमाडौं ल्याउने सोच बनाएको थियो । मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि सुरुङ खन्न र टनेल निर्माण गर्नको लागि मात्रै करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको भट्टराईले जानकारी दिए ।

सरकारले मेलम्चीको लागि एडिबीबाट २० करोड २० लाख अमेरिकी डलर ऋण लिएको छ । पहिलो चरणमा ३ करोड २० लाख, दोस्रो चरणमा ८ करोड र तेस्रो चरणमा ९ करोड डलर ऋण लिइएको छ । यस्तो ऋण ४० बर्षभित्रमा तिर्नुपर्ने हुन्छ । एडिबीसँग सन् २००९ मा पहिलो किस्ता ऋण लिइएको थियो । अन्तिम किस्ता ऋण रकम सन् २०२० सम्ममा आइसक्ने मेलम्ची आयोजना कार्यान्वयन निर्देशनलयले जानकारी दिएको छ ।

सरकारले सुरुमा मेलम्चीलाई कम्पनी बनाएर काम अघि बढाएको थियो । तर त्यो समयमा सरकारले सर्बसाधारण तथा निजी क्षेत्रलाई सेयर बिक्री गर्न सक्ने आँट नगरेका कारण पछि कम्पनी मोडलबाट आयोजना मोडलमा रुपान्तरण गरिएको थियो ।

‘जति बेला मेलम्चीलाई कम्पनी मोडलबाट अगाडि बढाउने भनिएको थियो, त्यो बेलामा राज्यप्रतिको अविश्वास अति नै धेरै थियो, राज्यले भनेको ठाउमा जनताले लगानी गर्ने अवस्था थिएन,’ यसैकारण एडिबीसँग ऋण लिइएको हो,’ भट्टराईले भने ।

याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याइसकेपछि मेलम्चीको सेयर बेच्ने तयारी गरिएको हो । सरकारले बढीमा ५१ प्रतिशत सेयर आफैसँग राखेर बाँकी सेयर निजी क्षेत्रका कम्पनी र सर्बसाधारणलाई विक्री गर्ने गृहकार्य थालेको हो ।

‘यो कम्पनी खर्बको हो, जतिबेला हामी पब्लिक सेयरमा जान्छौं, त्यो बेला कति चुक्ता पुँजी बनाउने हो, कति अधिकृत पुँजी बनाउने र सरकारको पुँजी कति हुने भन्ने त्यति बेला नै तय हुन्छ,’ उनले भने ।

मेलम्चीको सेयर प्रतिकित्ता १०० रुपैयाँमा नै सर्बसाधारणलाई विक्री गर्ने तयारी गरिएको छ ।

‘यसको सेयर नेपाल टेलिकमको जस्तो प्रिमियम मूल्यमा जादैन, सरकारले नाफा कमाउने होइन, जनतालाई सहभागी गराउने हो । सबैको सहभागिताबाट यो प्रणालीलाई स्थायित्व प्रदान गर्ने हो, बिकास गर्ने हो । जनताले प्रतिकित्ता १०० रुपैयाँमै यो कम्पनीको सेयर पाउँछन् । ५१ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर निजी क्षेत्र तथा सर्बसाधारणलाई बिक्री गर्ने हो,’ भट्टराईले भने ।

अहिले मेलम्ची आयोजनामा कम्पनीको जारी पुँजीको १५ प्रतिशत निजी क्षेत्रको लगानी छ । कम्पनीको जारी पुँजी साढे २ करोड रुपैयाँ छ । यो बर्ष जारी पुँजीलाई १० करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित काम भइरहेको आयोजनाले जानकारी दिएको छ । अहिले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता संस्थाहरुको निजी लगानी छ ।


क्लिकमान्डु